रविको नाम नलेखिए पनि उनको सिम्बोल नम्बर र ठेगाना लेखेर समिति बन्यो: महामन्त्री शर्मा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीबारे छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामको ठाउँमा सिम्बोल नम्बर राखिएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधि सभाबाट संसदीय छानबिन समिति गठन भएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसको माग बमोजिम नै लामिछानेको सिम्बोल नम्बर र ठेगाना लेखिएको बताएका हुन्।

नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ। पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ। ठेगाना लेखिएको छ– गोरखा मिडिया नेटवर्क भनेर,उनले भने।

परीक्षामा नामको सट्टा सिम्बोल नम्बर लेखिने गरिएको भन्दै महामन्त्री शर्माले छानबिन समितिको दायरामा लामिछाने आउने गरी संसदीय छानबिन समितिको कार्यादेश बनेको बताए।

सभामुख देवराज घिमिरेले समिति गठन भएको सुनाउँदै गृहमन्त्री लामिछानेलाई दुःखी र खुसी नदेखेको उनले टिप्पणी गरे।

महामन्त्री शर्माले आफूहरूले तीन महिनादेखि संसदीय छानबिन समिति माग गरेको स्मरण गर्दै अब पीडितका लागि काम गर्ने विश्वास व्यक्त गरे । ‘समितिले पूर्वाग्रहमुक्त भएर काम गर्नेछ भन्ने विश्वास गरौँ। सहकारी ठगीसँगै गिरीबन्धुलाई जोगाउन लाग्ने छैन भन्ने अपेक्षा गरौँ।