ठगहरूले केही ठुला सहकारी बदनाम र समस्याग्रस्त बनाए: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन्।

पार्टी निकट जन वर्गीय सङ्गठन संयन्त्रद्वारा काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठुला केही सहकारी बदनाम र सङ्कटग्रस्त हुन गएको उनले बताएका हुन् ।

अध्यक्ष ओलीले सहकारी संस्थाहरू बदनाम र सङ्कटग्रस्त नभएको जिकिर समेत गरे । सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत उनले बताए ।

अध्यक्ष ओलीले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै उनले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।

उनले भने, ‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यमबनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही सहकारी ठुलो सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ।

ती सङ्कटग्रस्त छन्। तर साँच्चैका सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, छैनन् पनि। ती त्यसका आफ्ना नियमहरू छन्। ती नियम अन्तगत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ।

अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रूपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको उनले बताए ।