देश भ्रष्टीकरणले बिग्रिएको हो: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले जेल बस्दा थुप्रै किताब पढेको सुनाएका छन्।

पार्टीको रामेछापका नेता देवशंकर पौडेलको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक शुक्रबार लोकार्पण गर्दै नेपालले आफ्नो विगत स्मरण गरेका हुन्।

‘मलाई त थुनामा राख्दा पढ्ने बानी ज्यादा रहेछ। अब थुन्दै थुन्दैनन् अहिले।ठट्टा गर्दै हाँस्दै उनले भने,थुनाउनलाई राजालाई नै ल्याउनुपर्ने भो कि क्या हो।

अरूबेला पनि काठमाडौंबाट एकान्त ठाउँमा फुत्त गएर एक/दुई वटा किताब पढेर सक्ने गरेको स्मरण गर्दै नेपालले अहिले राजनीतिले समय नमिलेको बताए।

‘अहिले काठमाडौंले छुट्टी नै दिँदैन, गइहाल्यो भने कार्यकर्ताले घेरिहाल्छन्। राति ११ बजेपछि के पढ्नु।नेपालले भने,बिहान उज्यालो हुन पाएको छैन फेरि ढोका ढक्ढक्याउन आइहाल्छन्। हैरान भइसक्यो।

उनले नेता कार्यकर्तालाई पढ्ने र घटनाक्रमहरूको टिपोट गर्ने बानी बसाल्न आग्रह गरे। धेरै सोचेर, धेरै विश्लेषण गरेर थोरै बोल्न पनि उनले सुझाव दिए।

अर्को प्रसंगमा उनले आफूहरू नेपालको राजनीति सहज ढंगले अघि बढोस् भन्नेमा पक्षमा रहेको बताए।

त्यसका लागि राजनीतिक यात्राका महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका व्यक्तिहरूले राजनीतिको केन्द्रविन्दु राष्ट्र र जनतालाई बनाउनुपर्छ। जनताका पीडा र बेदना सम्बोधन गर्नुपर्छ।

उनले भने,अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण हो। नेताहरु पनि बिग्रिएका छन्। कार्यकर्ता र देश भ्रष्टाचारले बिग्रिएको छ। समाज पनि विकृति र विसंगतिले खराब हुँदै गएको छ।