सार्वजनिक बसमा एक महिना भित्र अपाङ्गमैत्री सिँढी राख्न गृहको पत्राचार

काठमाडौं। सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्त मैत्री बनाइने भएको छ। गृह मन्त्रालयले शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसहरूमा एक महिना भित्र अपाङ्गमैत्री र्‍याम्प(सिँढी) राख्न भनेको हो।

‘सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्त मैत्री बनाउन सार्वजनिक बसहरूमा एक महिना भित्र अपाङ्गमैत्री र्‍याम्प(सिँढी) राख्न तहाँ मन्त्रालयबाट यातायात व्यवसायी सम्बद्ध संघरसंस्थाहरूलाई निर्देशन हुन जेठ १७ को (सचिवस्तर) निर्णयानुशार अनुरोध छ,भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पठाइको पत्रमा उल्लेख छ।

अपाङ्ग तथा अशक्त व्यक्तिहरूलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसहरूमा अनिवार्य अपाङ्गतामैत्री र्‍याम्प(सिँढी) राख्न भनिएको गृह सचिव एकनारायण अर्यालले बताए।

परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपाङ्ग र अशक्त भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो’ गृह सचिव अर्यालले भने।

परिवारका सदस्य मात्रै होइन, समाज तथा राज्यलेसमेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरूलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृह सचिव अर्यालको भनाई छ।

मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोक्दै आएको गृह मन्त्रालयले पछिल्लो समय आन्तरिक सुदृढीकरणसँगै समाजको वहुआयामिक क्षेत्रहरुमासमेत सुधारको थालनी गरेको छ। जसले नागरिक र राज्यको सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्‍याउने अधिकारीहरूको धारणा छ।