चिप्ला कुराले होइन्,कामले जितौं जनताको मन

 भनिन्छ नि,‘मान्छेको बोली र बाणबाट निस्केको तिर फर्किएर आउँदैन् ।’ जुनसुकै व्यक्ति भएपनि बोल्दाखेरि ध्यान ख्याल राख्नुपर्छ । झन् उच्च पदस्थहरुले धेरै सोचविचार गरेर मात्र बोल्नुपर्छ । उनीहरुले आफ्नो भनाइ राख्दा धेरै देश र समाजमा आँच आउन दिनुहुँदैन् । तर, केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बोलेका कुराहरु विभेद निम्त्याउने खालका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला जसरी भएपनि पदमा पुग्नुपर्ने र महिलाले हरेक क्षेत्रमा अग्रसरता लिनुपर्ने बताइन्। बोल्ने क्रममा उनले महिला र पुरुष समान हुन् भन्ने बिर्सिन्।आफूले बोलेका कुराले समाजमा कस्तो प्रभाव पार्ला ? भन्ने पनि उनले सोचेको देखिएन्।

पछिल्लो समय विद्यालयस्तरदेखि नै छोराछोरी समान हुन् भनेर पढाउने गरिन्छ । छोराछोरी बराबरी हुन् भनेर भनिरहँदा उनले महिला मात्र माथि पुग्नुपर्छ भन्नेजस्तो कुरा निकालिन्।

उनले राष्ट्र निर्माण, समाजलगायत हरेक क्षेत्रमा दुवैको समान प्रतिनिधित्व हुनुपर्छ भन्नुपर्थ्यो । तर, उनले विभेद सिर्जना हुने भनाइ राखिन् । भण्डारी आफैंपनि पटकपटक सांसद भइसकेको व्यक्ति हुन्। उनले विभिन्न मन्त्रीको भूमिका पनि निर्वाह गरिन् । दुई कार्यकाल राष्ट्रपति बनिन्। तैपनि उनको तर्फबाट यस्तो अभिव्यक्ति आउनु साँच्नै नै लज्जास्पद छ।

उनलाई चुनावमा मतदान गर्ने महिला र पुरुष दुवै हुन् । उनलाई राष्ट्रपति बनाउन मतदान गर्नेमा पुरुष सांसद पनि छन् । एउटा जिम्मेवार पदमा पुगेको व्यक्तिले पुरुष र महिलाबीच दुरी ल्याउने कुरा गरिन् । विवाद हुने देख्दादेख्दै पनि उनले सोचिनन् । राजतन्त्रमा राजाको पहिलो छोरो राजा हुन्थ्यो । छोरीहरु त्यहाँ गनिँदैनथे । जनताको छोराछोरीले राष्ट्र हाँक्नुपर्छ भनेर यहाँ आन्दोलन भयो ।
धेरैले ज्यान गुमाए, अंगभंग भए । त्यसपछि जनताको छोराछोरी राष्ट्रप्रमुख हुने व्यवस्था आयो । त्यही व्यवस्थाअनुसार भण्डारी राष्ट्रपति भइन् । तर, उनले राष्ट्रपति भएर पनि स्मरणयोग्य काम गर्न सकिनन् । उनी जनताको छोरी भएर पनि जनताका लागि काम गर्न नसकेकी हुन् । उनी कतै सवारी हुँदा राजाजसरी निस्किन्थिन् । बाटो रोकेर, जनतालाई दुःख दिएर ।
पदमा रहँदा पनि उनले पार्टीको कार्यकर्ताझैं काम गरिन् । नागरिकता विधेयक पटकपटक फर्काएकी उनले संसद विघटनको प्रस्ताव सोच्दै नसोची सदर गरिन् । तर, दुवैचोटि सर्वोच्च अदालतले व्यूताइँदियो । आमाको नामबाट नागरिकता पाउने प्रस्ताव उनले फर्काइन् । उनले विधेयक प्रमाणिकरण गरेको भए महिलाहरुले पनि नागरिकता पाउथें होला । त्यही विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले सदन गरिदिए ।
राष्ट्रपति भनेको साझा व्यक्ति हो । उसले गरेका काम सबैले अध्ययन गरिराखेका हुन्छन् । उसले के बोल्यो, के काम गर्यो ? यो त जनताले सँधै सम्झिराख्छन् । महिला र पुरुष एकरथका दुई पाङ्ग्रा हुन् । जुन घरमा महिला पुरुष समान हुन्छन्, त्यो घर राम्रो हुन्छ । समाज र देशको हकमा पनि त्यही नै हो । विगतको अवस्था हेरी महिला धेरै अगाडि आइसकेका छन् ।
महिलाहरु शिक्षित बन्दै गएका छन् । देशको प्रमुख निकायमा महिला पुगेका छन् । नेपालको पहिलो महिला राष्ट्रपति नै भण्डारी नै हुन् । प्रधानन्यायाधीशदेखि लिएर सभामुखसम्म महिला बनिसकेका छन् । सरकारी कार्यालयमा पनि महिलाको सहभागिता बढ्दो छ । कतिपय क्षेत्रमा भने महिलामाथि शोषण, विभेद कायमै छ । त्यहाँ राज्यको आँखा जानुपर्यो । छोरीछोरीबीच विभेद गर्नेहरुको मानसिकतामा परिवर्तन ल्याउन सक्नुपर्यो ।
शिक्षामा समान पहुँच बनाउनुपर्यो । अनि त कोही कसैबाट विभेदमा पर्दैन् । सरकारले एउटा माथि, एउटा तल देखाउने होइन्, बराबर बनाउने हो । दुवैलाई क्षमतावान बनाउने हो । राज्यको नजरमा सबै समान हुनुपर्छ । एउटालाई काखी च्याप्ने, अर्कोलाई पाखा लगाउने काम राज्यबाट हुनुहुँदैन् । यसो भएमा पुनः लडाइँ शुरु हुन्छ । राज्यले त सबैतिर समान प्रतिनिधित्वको वातावरण बनाउनुपर्छ ।
समाज विकासमा दुवैको योगदान आवश्यक छ भन्ने सोच फैलाउन सक्नुपर्छ । देशको रक्षा गर्ने महिला र पुरुष आवश्यक छ भन्ने कुरा सिकाउनुपर्छ । विकास नभएको ठाँउमा विकास पुर्याउनुपर्छ । महिला र पुरुषको नाममा राजनीति गर्नुहुँदैन् । भाषण गर्नमै रुमल्लिनुको साटो राज्य विकासमा लाग्नुपर्यो । जनतालाई स्वास्थ्य, शिक्षामा पहुँच पुर्याउनुपर्यो । राजनीतिक लडाइँ अब सकिसक्यो ।
अब अर्को व्यवस्था आउने वाला त छैन् । सबैको ध्यान अब विकासमा मात्र केन्द्रित हुनुपर्यो । जहाँ विकास पुगेको छैन्, त्यहाँ हातेमालो गरेर विकासको मूल फुटाऔं । गाउँगाउँमा रोजगारीको सिर्जना गरौं । त्यहाँ मान्छे बस्ने वातावरण बनाऔं । एकले अर्कोको खुट्टा तान्दातान्दै देश सकिसक्यो । नेपाली सबै विदेश पुगिसकेका छन् । गाउँ रित्तिसक्यो । जमिनहरु सबै बाँझो छन् ।
यतातिर ध्यान दिऔं । नीति नियम बनाउने ठाउँमा पुगेका वा नीति नियम कार्यान्वयन गर्न बसेका व्यक्तिले जनताको अभिभावकत्व निर्वाह गर्नुपर्छ । आफूले पाउनुपर्ने सेवासुविधा त्यागेर देश र जनताका लागि तिनले काम गर्नुपर्छ । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । तर, सेवासुविधा लिने क्रम रोकिएको छ । बहालवालादेखि भूपूवाला सम्मले सरकारी सेवासुविधा लिइरहेका छन् ।
त्यसैले यिनीहरुको भाषण कसले पत्याउँछ ? देशमा के भइरहेको छ ? तिनलाई थाहा छैन् । जसरी हुन्छ, आफू मोटाउनु छ । हामी कुराचाँहि मिठो गर्छौं । तर, गर्ने बेला हामी ठ्याक्कै विपरीत गर्छौं । हाम्रो देखाउने र चपाउने दाँत छुट्टाछुट्टै छ । जसलाई पनि सात पुस्तालाई पुग्नेगरी सम्पत्ति जोड्नु छ । कुनै जनता खान नपाएर भौक बसेका छन् । कुनै सडकमा सुतेका छन् ।
तर, नेताहरुलाई सेवासुविधा पुगेको छैन् । आफ्नो घर भाडामा लगाएर राज्यबाट सेवासुविधा लिइरहेका छन् । जुन लाजमर्दो कुरा हो । नेता भएपछि त पहिलो जनताको विषयमा सोच्नुपर्यो । सर्वसाधारणले होस् या पदमा बस्ने व्यक्तिले मलाई राज्यले के दियोभन्दा पनि मैले राज्यलाई के दिए भन्ने हेर्नुपर्छ । देश विकास भएन् भने सीमित व्यक्तिलाई फाइदा हुन्छ ।
देश विकास भयो भने त सबैलाई फाइदा हुन्छ । जनताले कर तिर्ने र नेताले भ्रष्टाचार नगर्ने हो भने देश आफैं विकास भइहाल्छ । अहिले सबै काम नगर्ने खाने मात्र भए । जनताको प्रतिनिधि भनेको छ तर आफ्नो धोक्रो भर्नमै केन्द्रित छन् । यहाँ करोडौं पीडित छन् तर हजार चाँहि सोखमा छन् । जे जो खाने ठाउँमा छन् तिनलाई मात्र जिन्दगीको मज्जा आइरहेको छ ।
‘साँच्नै नै देश परिवर्तन गर्ने हो भने पुष्पकमल दाहालले तलबभत्ता छोडेर उदाहरण देखाउनुपर्छ । राष्ट्रपतिले पनि आफ्नो सबै सेवासुविधा छोड्नुपर्छ । उनीहरु त्यागी भएभने मात्र अरुमा पनि केही चेतना आउँला । राजा वीरेन्द्रको परिवारले १३ करोड रुपैयाँ खर्च गर्थ्यो । तर, ज्ञानेन्द्र आउनेबित्तिकै ६५ करोड पुर्याए । जसका कारण जनता सडकमा आउनुपर्यो ।
राजतन्त्र हट्यो । अहिले सबै जनताको पैसामा मोजमस्ती गर्ने भएका छन् । अहिले खर्बौं रुपैयाँ त सेवासुविधाकै लागि छुट्याउनुपरेको छ । यहाँ खाने नै खाने मात्र भए । त्यसैले देश विकास हुन सकेन् । कोही पनि देशप्रति जिम्मेवार भएनन् । देशका उच्च पदस्थहरुले अब देश र जनताका लागि सोचुन् । हामीहरु देशको अभिभावक हौं भन्ने यिनीहरुले बुझन् । यिनीहरुको काँधमा देश छ । जनता अहिले आक्रोशित छन् । त्यसैले नेताहरु जिम्मेवार बनुन् ।