गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अनुगमन

धुलिखेल। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अनुगमन निरीक्षण गरेका छन्।

भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको संरचना निर्माणको अवस्था र हाल भइरहेको कामको अनुगमन गरी त्यसको प्रगतिबारे जानकारी लिएका हुन्। रु. १० अर्ब बराबरको लागतमा निर्माण भइरहेको संरचना निर्माणबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए।

निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माण धमाधम भइरहेको जानकारी दिएको थियो। आयोजनाको अनुगमनपछि प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले निर्माणाधीन प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण दौरानमा केही बाधाहरू रहेको भन्ने जानकारी पाएको र त्यसको समाधान गर्दै छिटो सम्पन्न गर्न नेपाल सरकारका तर्फबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

भारत सरकार पनि छिट्टै आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न चाहेको देखिन्छ,तर हाम्रै कारणले केही ढिलाइ भइरहेको भन्ने जानकारी प्राप्त भएको छ,उनले भने,त्यसबारे छलफल भइसकेकाले समस्याको समाधान गरी जतिसक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा सरकार छ।

गृहमन्त्री लामिछाने नेतृत्वको टोलीले आयोजनाका विभिन्न संरचनाको प्रगतिबारेमा जानकारी लिएका थिए। विसं २०७९ असारमा निर्माण सुरु भएको आयोजना आगामी विसं २०८२ असारमा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको छ।

प्रतिष्ठानमा प्रशासनिक भवन,शैक्षिक भवन,खेलमैदान,स्विमिङ पुल,हेलिकप्टर अवतरण स्थललगायतका भौतिक संरचना निर्माण भइरहेको छ। स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रणमा करिब छ सय ७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका संरचना निर्माण हुने जनाएको छ।

दिगो विकास मापदण्ड अनुरूप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुने जनाएको छ। आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाइएको छ।