बजेटले प्रचण्ड–ओली सम्बन्ध भाँडिँदै: माओवादीप्रति ओलीको कटाक्ष,सरकार संकटमा

फाइल तस्बिर

काठमाडौं। तेस्रो पटक सत्ताको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्नो कार्यकालको १८औँ महिनामा छन्।

सुरुमा काँग्रेसँग नै गठबन्धन गरेर चुनावमा होमिएका प्रचण्ड पछि एमालेको सहयोगमा प्रधानमन्त्री बने। प्रचण्डको नेतृत्वमा सरकार बनेपछि राष्ट्रपति निर्वाचनमा माओवादीले काँग्रेसलाई सहयोग गर्ने पक्का भयो।

त्यसपछि एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो। यद्यपि पछि फेरि काँग्रेसँग सहकार्य टुटाएका प्रधानमन्त्री प्रचण्डले एमालेसँगै गठबन्धन गरेर नयाँ सरकार बनाए। हाल पनि एमालेकै मुख्य आडमा सरकार संचालन भइरहेको छ।

यसरी प्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा उनले ४ पटक विश्वासको मत लिइसकेका छन्। एमाले र माओवादी दुवै तर्फका नेताहरुले यो सरकार संसदको पूरा कार्यकालभरी टिक्ने दावी गर्दै आइरहेका छन्।

प्रचण्ड नेतृत्वको सरकार टिकाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भरपुर सहयोग गर्दै आइरहेका छन्।

उनले अन्य साना दलहरुसमेत बटुलेर सरकार टिकाउन प्रधानमन्त्रीलाई सहयोग गरिरहेका पनि छन्। यही अवस्थामा प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक बजेट प्रस्तुत हुँनुभन्दा केही दिन अघि विश्वासको मत लिएका थिए।

जसमा एमालेको सहयोगसहित प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे। यसको केही दिन लगत्तै गत मंगलबार संसदबाट बजेट प्रस्तुत गरिएको थियो। तत्काल टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विनियोजित बजेटलाई असन्तुलित भनेको थियो।

सरकारले महत्वकांक्षा बोकेर केही ठूलो आकारको बजेट ल्याएको काँग्रेसको आरोप थियो। त्यस्तै कतिपयले बजेट समर्थक र दल केन्द्रीत मात्रै भएको भनेका थिए। तर यसमा सत्तारुढ नेकपा एमालेसहितका अन्य दलहरुले भने बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।

तर संसदबाट प्रस्तुत भइसकेको बजेटको विषयलाई लिएर सत्तारुढ सबैभन्दा ठूलो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने केही दिनपछि असन्तुष्टि जनाएका छन्।

विनियोजन भइसकेको ४ दिनपछि शनिबार अध्यक्ष ओलीले सरकारले सत्तारुढ दलहरुसँग कुनैपछि छलफल नगरी बजेट ल्याएको आरोप लगाएका हुन्। अध्यक्ष ओलीले बजेटमाथि त्रुटि औँल्याउँदै अर्थमन्त्री र माओवादी केन्द्र पार्टीप्रति मात्रै ढल्किएको टिप्पणी गरेका हुन्।

ओलीको यो अभिव्यक्तिले बदलिँदो राजनीति र विशेष अवस्थामा बनेको सत्ता गठबन्धन भित्रका दलहरुबीच असमझदारीको संकेत गरेको छ।

नयाँ गठबन्धन बन्दै गर्दा वर्तमान सरकारले पूरै कार्याकाल टिक्ने दावी गरिएको थियो। यसप्रति दलहरु प्रतिबद्धसमेत रहेको बताइँदै आएको छ। तर ओलीले शनिबार बजेटप्रति असन्तुष्टि जनाउँदै सरकार र अर्थमन्त्रीप्रति रोष प्रकट गरेका हुन्।

सत्ता गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायतका घटक दलहरु दायाँबायाँ गर्न खोजिरहेका बेला ओलीको यो बोलीले प्रधानमन्त्री प्रचण्डमाथि भने थप दबाब बढेको छ।

पछिल्लो समय सत्तारुढ दलहरुमा अस्थिरताको दृष्य देखिरहँदा सत्तारुढ सबैभन्दा ठूलो दल एमालेको पूर्ण समर्थन नहुनु प्रधानमन्त्री चरस अफ्ठ्यारोमा पर्नु हो।

नेकपा एकीकृत समाजवादीले पनि प्रचण्ड सरकारको विकल्प खोज्दै नेपाली काँग्रेससँग साँठगाँठ गरिरहेको छ। यद्यपि यस विषयमा ओली र प्रचण्डले माधवलाई फकाउने प्रयत्न गरिरहेका छन्।

काँग्रेसले वैकल्पिक सरकार गठनमा सहयोग मागिरहँदा आफूलाई प्रदेश सरकारहरुमा निर्णायक देखेको नेकपा एस केही हौसिएको छ। जसका कारण प्रधानमन्त्री प्रचण्ड थप अफ्ठ्यारोमा छन्।

यहीबीचमा एमाले अध्यक्ष ओलीले पनि सरकार र बजेटप्रति नकारात्मक टिप्पणी गर्न थालेपछि प्रधानमन्त्री प्रचण्ड अझ अफ्ठ्यारोमा पर्दै गएका हुन्।

यसले पछिल्लो गठबन्धन निर्माण हुँदै गर्दा गहिरिएको प्रचण्ड–ओली सम्बन्धमा केही खाडल ल्याउने संकेत गरेको छ। तर ओली प्रचण्डबीच लामै सहकार्यका लागि समझदारी भएका कारण यी र यस्ता टिप्पणीले गठबन्धमा कुनै प्रभाव नपर्ने कतिपय पक्षले टिप्पणी गरिरहेका छन्।