टी-२० विश्वकपः सुपर ओभरमा नामिबियासँग ओमान पराजित

काठमाडौं। आइसिसी टी-२० विश्वकपमा ओमानविरूद्ध नामिबियाले जित निकालेको छ। सोमबार बिहान भएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २० रन बनाएको थियो।जवाफमा ओमानले १० रनमात्रै बनाउन सक्यो।

अन्तिम ओभरमा पाँच रन आवश्यक रहेकोमा ओमानका मेहरान खानले दुई विकेट लिए। अन्तिम बलमा एक रन जोड्न सफल भएपछि खेल सुपर ओभरमा पुगेको हो।

नामिबियाका लागि जान फ्रिलिंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बलमा ६ चौका प्रहार गरे।निकोलस डेभिडले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे।

कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन मात्रै जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ ओमानका मेहरान खानले ३ तथा बिलाल खान, अकिब इलियास र आयान खानले १र१ विकेट लिए।

पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटिएको हो।

ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले ४ विकेट लिए।डेविड विसाले ३, गेहार्ड इरास्मस २ र बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए।

ओमानका खालिद कैलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए।जिशन मक्शुदले २० बलमा २२ रन जोड्दा आयान खानले १५ रनको योगदान गरे। अन्य ब्याटरले रन जोड्न सकेनन्।

ओपनर काश्यप प्रजापति र कप्तान अकिब इलियास शून्यमा आउट हुँदा नशीम खुशी ६, मोहम्मद नदीम ६, मेहरान खान ७ र शकील अहमद ११ र कलिमउल्लाह २ रन बनाएर आउट भए।