वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रधानमन्त्रीको आग्रह

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन्।

भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री प्रचण्डले सन्देशमा उल्लेख गरेका छन्।

“विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगन्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ,शुभकामना सन्देशमा भनिएको छ,संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र,नागरिक समाज,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ।