चितवनमा रगत पाउनै मुस्किल

सांकेतिक तस्वीर

चितवन । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त संकलन कार्यक्रम आयोजना गर्‍यो । स्थानीय श्वेता रक्तदाता अभियानले संकलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए।

गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो। अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए। केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा पुगेर रगत संकलन गर्ने गरेको छ।

विगतका तुलनामा रगत संकलन घट्दो रहेको छ भने माग बढ्दो छ। उनका अनुसार गत आर्थिक वर्षमा २७ हजार १०४ युनिट रगत संकलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार ८३५ थियो। केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत संकलन गर्ने गरेको थियो । रक्त संकलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ। शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताए।

दैनिक सयदेखि १५० युनिटसम्म रगत यहाँ माग हुने गर्दछ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुने गर्दछ।

संकलन भएको रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुईजना बिरामीको आवश्यकतालाई पूर्ति गरिँदै आएको छ। सभापति पौडेल युवाहरुको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी,अहिलेको अवस्था निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामा नै दीर्घरोग देखिनुजस्ता कारण रगत संकलनमा कमी आएको बताउँछन्।

यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम संकलन हुने गरेको जनाइएको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउँछन्। रगत संकलन गर्ने प्राविधिकलाई तालिम दिनुपर्ने उनको भनाइ छ।

आवश्यकताभन्दा बढी कडाइ गर्ने गरेको जनाउँदै उनले उच्च रक्तचाप, मधुमेहजस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अवस्थामा रगत दिन मिल्ने बताए।

दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत संकलन गर्नुपर्ने उनी बताउँछन्। विद्यालय, कलेजलगायतका संघ संस्थाको क्यालेन्डरमा वर्षका तीनदेखि चारपटक रक्तदान कार्यक्रम राख्नुपर्ने उनको सुझाव छ। रासस