रविमाथि काँग्रेस नेताहरूको आक्रमण जारी,नाँगो भइसक्दा पनि अझै भ्रममा गृहमन्त्री भन्दै प्रदीपको कडा प्रहार

काठमाडौं। नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि घोचपेच गर्न छाडेको छैन। रविलाई सरकार छाड्न बाध्य पार्ने काँग्रेस रणनीति अनुसार संसदीय छानबिन समिति बनेपछि पनि काँग्रेस साँसदहरुले घोचपेच भने जारी नै राखेका छन्।

काँग्रेस सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। उनले आफूमाथि छानबिन समिति नै बनेपछि नैतिकताको बोध गरी सरकार छाड्नुपर्ने बताएका हुन्।

एक कार्यक्रममा बोल्दै सांसद पौडेलले रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेले नैतिकता बोध नै नगरेको बताए। नैतिकताको बोध नै नगरिने राजनीतिको काँग्रेसले अन्त्य गरेरै छोड्ने उनको दाबी थियो।

सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु भनेको ‘नाँगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको भ्रममा पर्नु’जस्तै रहेको पौडेलको टिप्पणी छ। उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे।

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समितिको माग राखी संसद अवरोधमा उत्रिएको काँग्रेसले उनलाई सरकारबाट झार्न सकेमा रास्वपाले पनि सरकार छाड्ने र सरकार अल्पमतमा पर्ने भएकाले कसरत बाँकी नै राखेको छ।

गृहमन्त्री रविविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका काँग्रेसका महामन्त्री गगन थापा पनि वर्तमान सरकार ढाल्ने रणनीतिमै छन्। यद्यपि उनी बाहिर भने आफ्नो पार्टी सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने बताइरहेका छन्। उनले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा नै रहने दाबी गर्दै सरकारको खेलमा नलाग्ने बताए।

महामन्त्री थापाले काँग्रेसले चुनावमा गएअनुसारको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिवद्धता बिर्सिंदा काँग्रेस प्रतिपक्षमा पुगेको बताए।

उनले काँग्रेसले अब ०८४ सम्म सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात पनि नलम्ब्याउने बताए। प्रतिपक्षको भुमिका निर्वाह गर्दै गर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न भने काँग्रेसले नछोड्ने समेत उनको भनाइ छ।

काँग्रेस संसदको ठूलो दल र संविधान निर्माणको नेतृत्व गरेको पार्टी भएकाले जिम्मेवार भए प्रमुख दलहरुसँग संवाद जारी राख्ने उनले बताए।

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गर्नुभएको आरोप लगाउनु भयो। यस्तै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीको आलोचना गरेका छन्।

रास्वपाकी शिक्षामन्त्री विरुद्ध ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले ओलीको आलोचना गरेका हुन्। महिला भएकै कारणले ओलीले स्त्रीद्वेषी अभिव्यक्ति दिएको थापाले बताए। ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त रहेको भन्दै उनले काँग्रेसले नै ओलीको अभिव्यक्ति गलत हो भन्न सक्नुपर्ने बताए।

यसैबीच, गृहमन्त्री लामिछाने समेत मुछिएको सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय समितिले प्रतिवदेनहरु उपलब्ध गराउन संबद्ध सबै पक्षलाई आग्रह गरेको छ।

 सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानविनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरुको प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन संबद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो।