अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न विश्वप्रकाशको सुझाव

काठमाडौं। नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सुझाव दिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री समेत रहेका शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध भइरहेको विनाश नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका हुन्।

‘आजको विकासको भोक मेट्न,भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढङ्गले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ,उनले भने।

त्यस्तै उनले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धी संशोधित ऐन,०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद शर्माले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे। जलवायु परिवर्तन,भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरूले औंल्याएका जोखिमपूर्ण बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने उनको सुझाव थियो।