स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियरका बोतल भेटिए पछि…?

अछाम। अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल फेला परेका छन्। जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ९ मस्टाबण्डालीमा रहेको एक स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र तीनवटा बियरका बोतल फेला परेका हुन्। उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका थिए।

सोही अनुगमनका क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन। वडा नम्बर ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राख्नेलाई कारबाही गर्ने बताएका छन्।