बंगलादेशविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै
काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् । नेपालले एक परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाविरुद्ध खेलबाट सन्दीप जोराले आज खेल्ने मौका पाउँदा तीव्र गतिका बलर करण केसी बेन्चमा छन् ।
समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।
शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ ।
उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ। बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो। बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो। बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ।
उता नेदरल्यान्ड्स ३ खेलमा २ अंकका साथ चौथो स्थानमा छ। नेपाल भने ३ खेलमा १ अंकका साथ चौथो स्थानमा छ। दक्षिण अफ्रिका ४ खेलमा अपराजित रहँदै सुपर ८ मा पुगेको छ ।
नेपाल र बंगलादेशबीच हालसम्म एकमात्रै टी–२० आई खेल भएको छ । सन् २०१४ को टी–२० विश्वकपमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनाश बोहरा,
बेन्च – सागर ढकाल, कमलसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशी ।