रोहितसँग झगडा गर्ने बंगलादेशी बलर तान्जिममाथि आइसीसीको कारबाही

काठमाडौ। आईसीसीले टी–२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ।

आईसीसीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो। कारबाहीमा परेका उनको म्याच फिको १५ प्रतिशत रकम काटिने छ। सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो।

ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए। त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगेका थिए । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए।

तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए। ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए। उक्त घटनालगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए।

आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन्। उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन्।