आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दैछ। संसदीय सुनुवाई समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो।

संसद सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक मध्याह्न १२ बजे बस्दैछ। बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ हुनेछ। संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दै छ। बैठकमा पुरानो संसद भवनको पुनःनिर्माण, निर्माणाधीन संसद् भवन निर्माणको प्रगतिलगायत विषयमा छलफल हुनेछ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दै छ। मध्यान्ह १२ बजे बस्ने बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।