पार्टी जोगाउने हो भने बोल्ड निर्णय गर्नुपर्छ: महामन्त्री ढकाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टी जोगाउने हो भने बोल्ड निर्णय गरेर जानुपर्ने बताएका छन्।

गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुम्दै नेता–कार्यकर्ताको सुझाव सुनेपछि उनले यस्तो निष्कर्ष निकालेको बताएका छन्।

पार्टी स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा उनले सामाजिक सञ्जालमा पार्टी जोगाउने,नजोगाउने,हाम्रो औचित्य के हो जस्ता गम्भीर र उच्च संवेदनशील प्रश्न खडा भएको पनि बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने,हाम्रो औचित्य के हो? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं,उनले भनेका छन्,यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन सुरू भए।

पार्टी जोगाउने हो,नेपाली जनताको आशा भरोसा जगाइ राख्ने हो भने पार्टीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानुपर्ने महामन्त्री ढकालले बताएका छन्।

‘मलाई विश्वास छ,हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास गरी यहाँसम्म ल्याइदिनु हुने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै दोश्रो वार्षिकोत्सवको शुभकामना एवं बधाई,उनले भनेका छन्।

इलाम क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा निर्वाचनामा धक्का व्यहोरेपछि रास्वपाले देशव्यापीरूपमा कार्यकर्ताकहाँ पुगेर पार्टी कामको सिंहावलोकन र समीक्षा गर्ने निष्कर्ष निकालेको थियो। पार्टी महामन्त्री डा.ढकाललाई देश दौडाहामा पठाउने र त्यसको प्रतिवेदन तयार पार्ने जिम्मा पनि दिएको थियो।

त्यसक्रममा ढकाले ३८ जिल्लामा पुगेका थिए। २ हजार ७९ जनासँग संवाद,अन्तरक्रिया र छलफल गरेको उनले बताएका छन्। ८० किलोमिटर पैदल र ४ हजार २१६ किलोमिटर सडकमार्गबाट यात्रा गरी सुझाव संकलन गरिएको उनले बताए।