मसाज सेन्टरको नाममा नाबालिकालाई यौनधन्दामा लगाउने २ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। नाबालिकाहरुलाई ब्युटीपार्लरमा काम दिने बहानामा काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गररेको छ।

विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकाहरुलाई यौनधन्दामा लगाएको भेटेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्पा सेन्टर सञ्चालकहरु टोखा बस्ने रेशम गुरुङ र सातदोबाटो बस्ने ३३ वर्षकी मखमली माया स्याङ्तान रहेका छन्। उनीहरुमाथि अनुसन्धान थालिएको र अन्य क्षेत्रमा खोजी तथा निगरानी जारी रहेको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

डरत्रास र प्रलोभनमा पारी नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोखाको सनफ्लावर स्पा सेन्टर र ठमेलको ए वान स्पा सेन्टरबाट दुई नाबालिकाको उद्धार गरिएको छ। पीडितको जाहेरीका आधारमा उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको र अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ।