प्रचण्ड हटाउन देउवा र ओलीको आन्तरिक छलफल तिव्र,के गर्दैछन् त प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार कति दिनसम्म टिक्ला भनेर चर्चा हुने थालेको छ। एमाले–कांग्रेसको राजनीतिक मनोविज्ञानमा प्रचण्डले खेलोफड्को गरुन्जेल राष्ट्रिय राजनितिमा यस्तै तरंग आइरहने बताइन्छ।

एमालेसँगको सत्ता सहकार्यमा असहज महशुस गरेको भन्दै आन्तरिक सर्कुलर गरिरहेका प्रचण्डले आफ्नो सरकार पुरा कार्यकाल जाने आत्मविश्वास व्यक्त गरेका छन्।पार्टीसँग जादुवाला नम्बर भएकाले पनि सरकारको नेतृत्व माओवादी केन्द्रले नै लिने प्रचण्डको ढुक्कको विश्वास देखिन्छ।

प्रतिनिधिसभामा ३२ सिटसहित तेश्रो शक्तिको रुपमा रहेको पार्टी हो माओवादी केन्द्र। यसै तेस्रो शक्तिको पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको छ।यि नै प्रचण्ड अहिले सत्ता शक्तिको खेलमा आफु शक्तिशाली रहेकाले कसैले हल्लाउन नसक्ने बताइरहेका छन्।

प्रधानमन्त्री बन्न स्वर्गिय पत्नी सीता दाहालसँग वचन दिएकाले निर्वाचन लगत्तै कांग्रेससँग सहकार्य हुन नसकेको दाबी गरेका प्रचण्डले एमालेहुँदै कांग्रेससँग र पुनः कांग्रेस छोडेर एमालेसँग सत्ता सहकार्य गरिसकेका छन्। तर, एमालेसँगको पछिल्लो सत्ता समीकरणमा बजेटलाई लिएर देखिन थालेको विवादले सरकारको आयु कतिदिन सम्म भन्ने अड्कल चलिरहेको छ।

यसै बेला सरकार पुरा कार्यकाल जाने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माको दाबी छ।

शर्माले जस्तै एमाले पनि तत्काल सत्ता समिकरण फेरिहाल्ने मनस्थितिमा नपुगेको दाबी गरिरहेको छ। तर, आन्तरिक रुपमा प्रमुख प्रतिपक्षसँग संविधान संशोधनको मुद्दालाई लिएर सहकार्यको प्रस्ताव भने गरिरहेको छ। तर, बाहिरी रुपमा एमालेले तत्काल सत्ता फेरवदलमा विश्वास नगरेको दाबी गर्न छोडेको छैन।

सरकारबारे अनेक टिप्पणी भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड आफैले भने आफूलाई हटाउन सजिलो नभएको चेतावनीपूर्ण अभिव्यक्ति दिइरहेका छन्। जादुवाला अंक आफ्नो दलसँग रहेकाले यसलाई मिलाएर प्रयोग गरि आफु पुरा कार्यकाल सरकारको नेतृत्वमा रहने जिकिर प्रचण्डको छ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई कसैले फाल्न नसक्ने दाबी गर्दै गरेको यो समय भने संविधान संशोधनको मुद्दा जोडतोडले उठ्न थालेको समय हो। संविधानमा भएका कमजोरी हटाएर देशलाई नयाँ युगमा लैजाने दाबि राजनीतिक वृत्तमा चलिरहेको छ।

यहि छेकोमा प्रधानमन्त्री प्रचण्डले आफ्नो दलसँग जादुवाला अंक रहेको भन्दै गरेको दाबी कतै गलत सावित हुने त होइन ? यो सोचनीय विषय बनेको छ।

संविधान संशोधनको मुद्दामा देखिएको राजनीति

संविधान संशोधन गर्ने कुरा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाइरहेको छ। संविधान संशोधनका लागि संसदमा दुई तिहाई बहुमतको आवश्यकता पर्छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा यसका लागि २०७ सांसदको आवश्यकता पर्छ। अहिले कुनैपनि दलसँग सामान्य बहुमत नै नभएको बेला संविधान संशोधनको मुद्दालाई लिएर एमाले कांग्रेस मिल्ने सम्भावनाको बाटो खोज्न थालिएको छ।

एमाले र कांग्रेस जोड्दा १६७ सांसद हुन्छन्। यति गर्दा पनि संविधान संसोधनका लागि अन्य ४० सांसद आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ एमाले–कांग्रेसलाई।

त्यसैले पनि माओवादी अध्यक्ष रहेका प्रचण्ड अंकगणितमा अन्य दल पनि कमजोर रहेकाले आफुले खेल्न सक्ने अवस्था छ भनि ढुक्क देखिन्छन्। यद्दपी, माओवादी बाहेकका दलहरुले संविधान संशोधनको मुद्दा कुनै न कुनै मामलामा बोक्ने देखिएकाले राजनीतिक कोर्ष समेत फेर्ने गरि एमाले–कांग्रेस सत्ता समिकरण बन्न सक्ने सम्बावना बलियो छ।

धर्मनिरपेक्षतादेखि संघीयताको विषयमा असहमति व्याप्त छ। यी मुद्दामा माओवादी केन्द्रबाहेकका दलहरु एकीकृत हुने स्थिति बनेमा मात्रै पनि प्रचण्डको दाबीमा ब्रेक लाग्ने सम्भावना बलियो छ।