जनतालाई दुःख दिएर सलाम खान नैतिकताले दिन्छ, प्रधानमन्त्री ज्यू ?

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वालुवाटारबाट पुतलीसडक हुँदै सिंहदरबार आउँछन्। मन्त्री निवास पुल्चोक भएपनि अधिकांश वालुवाटारमा भेटघाट गरेर पुतलीसडकको बाटो हुँदै सिंहदरबार जान्छन्। प्रधानमन्त्री वालुवाटारबाट आउँदा र सिंहदरबारबाट फर्किदाँ पुतलीसडक एरिया ठप्प हुन्छ।

पारिको मान्छे पारि र वारिको मान्छे वारि नै उभ्याएर राखिदिन्छन्, ट्राफिक प्रहरी। समय एक सेकेण्ड पनि महत्वपूर्ण हुन्छ। कोही अस्पताल हिँडेका हुन्छन्, कोही जागिरमा। त्यसरी सडकमा उभ्याएर राखिदिँदा सर्वसाधारणलाई कति मर्का पर्छ ? देशका उच्च पदस्थहरुले सोचेका छन् ?

कहिले प्रधानमन्त्री आइपुग्न १० मीनेट लाग्छ। एउटा प्रधानमन्त्रीको सवारीको लागि सयौं सर्वसाधारणको १० मीनेट खेर फाल्नु ठीक हो ? जति प्रधानमन्त्रीलाई आफ्नो समयको महत्व छ, जनताका लागि पनि त्यतिनै महत्वपूर्ण छ। एक मीनेटले जागिर जान सक्छ। जिम्मा कसले लिइदिन्छ ?

ट्राफिक प्रहरी, सरकारी कर्मचारीले जनताले तिरेको करबाट तलब खाएका हुन्। तर, उनीहरु जनताप्रति अलिकति पनि जिम्मेवार देखिँदैनन्। राष्ट्रपति,प्रधानमन्त्री, मन्त्रीलगायतको आगमन हुँदा उफ्रीउफ्री सलाम ठोक्छन्। हुन त उनीहरुले जानेको पनि त्यति नै होला।

ट्राफिकले सडकमा रोकेर राख्ने कि सहजीकरण गर्ने ? कोही स्कुल हिँडिरहेका हुन्छन्। उनीहरुलाई ढिलो भयो कि भएन् ? वृद्धावृद्धलाई १० मीनेट सडकमा उभ्याएर राख्न ट्राफिकलाई नैतिकताले दिन्छ ? जोपनि नेताकै चाप्लुसी गर्नमै व्यस्त छन्। कोही बच्चा बोकेर उभिरहेका हुन्छन्।

ट्राफिकले त्यो हेर्नुपर्छ कि पर्दैन् ? नेताहरु मुलुकमा जनताको शासन आयो भन्छन्। तर, कहाँ आयो ? नाम मात्र ‘लोकतन्त्र’ राखेर हुन्छ ? त्यहाँ उभिन नसकेर सर्वसाधारणले बाटो काट्न खोजे भने ट्राफिकले हप्कीदप्की गर्छन्। उनीहरु ‘त’ मै उत्रिन्छन्। ‘पछाडि जा, पछाडि सर’ लगायतका शब्द उनीहरुले प्रयोग गर्छन्।

कर तिर्ने जनतालाई गर्ने व्यवहार यही हो ? जो कर तिर्छ उसलाई यहाँ अपहेलना छ, जो कर खान्छ उसको चाँहि सम्मान। नेता होस् या सरकारी कर्मचारी उनीहरु जनताको सेवक होइन्, शासक बने। जनताभन्दा ठूलो कोही छैनन् भन्ने उनीहरुले बुझेका छैनन्। नेता होस् या सरकारी कर्मचारी, तिनले जनताको नुन खाएका छन्।

तर, त्यही जनतामाथि शासन गर्न खोज्छन्। जनतालाई दुःख दिनुहुँदैन् भन्ने कुरा उनीहरुको दिमागमा कहिलेपनि आएन्। जनताले तिरेको करबाट तलबभत्ता खाने, सेवासुविधा लिने र जनतामाथि नै हैकम चलाउन खोज्ने। वर्तमानदेखि भूपू प्रधानमन्त्रीसम्मले बाटोमा हिँड्दा पुरै सुरक्षाकर्मीको लस्कर लगाउँछन्।

प्रहरीको गाडीको साइरन त टाढाटाढा सम्म सुनिन्छ। देशको कायापलट गर्न लागेकोभन्दा बढी हतारो यिनीहरुलाई छ। यिनीहरु जाममा बस्नुहुँदैन्। जाममा बस्यो भने त यिनीहरुको नाक काटिन्छ। यिनी गाडीमा हिँड्छन्। तर, बाहिर के भइरहेको छ भन्ने यिनीहरुलाई थाहा हुँदैन्।

यिनीहरु गाडी लिएर हिँड्नेबित्तिकै सर्वसाधारणले भन्छन्,‘ऊ देश बेच्ने दलालीहरु आए ।बाटोमा हिँड्दा एकदमै बिजीजस्तो गर्छन् तर के छ प्रगति ? जनतालाई देखाउनुपर्यो। वालुवाटार र सिंहदरबार जाने अनि चिया खाने, गफ ठोक्ने। योबाहेक तिनले केही जानेकै छैनन्।

जसरी हतारोमा हिँड्छन्, त्यसैगरी विकास गरिदिए त जनतालाई कति सहज हुन्थ्यो होला । देश बिगारेको नेता र सरकारी कर्मचारीले हो भन्ने त घामजस्तै छर्लङ्ग छ । कर्मचारी मिठा कुरा सुनाउने, उफ्रीउफ्री सलाम ठोक्ने, नेता मख्ख परिहाल्ने। योभन्दा अरु के चाहियो ? चाप्लुसी गरेपछि प्रोमोशन पनि हुने ।

अनि जनताको सेवा कसले गर्छ ? यहाँ काम गर्नेभन्दा चाप्लुसी गर्नेमाथि पुगेका छन्। संसदका कर्मचारी केही दिनअघि तलबभत्ता बढाउन माग गर्दै निरन्तर आन्दोलनमा थिए। सरकारले तलब बढाउने सहमति गरेसँगै उनीहरुले आन्दोलन स्थगित गरेका छन्। तर, पुरानै तलब त कहाँबाट दिनुजस्तो अवस्था बनिसकेको छ।

राजश्व उठाउनतर्फ कर्मचारीलाई चासो छैन्। तलबभत्ता चाँहि बढीबढी चाहिएको छ। साँच्चै भन्ने हो भने सरकारी कर्मचारी देशका लागि ‘साप’ नै भए। हुन त तिनलाई मात पनि लागेको हो । सरकारी कर्मचारी सबै पार्टीका झोले छन्। उनीहरुले केही भन्नेबित्तिकै सरकारमा बस्नेहरुले पुरा गरिदिईहाल्छन्।

तर, जनताको कुराचाँहि कसले सुन्छ ? सरकारी कर्मचारीको माग सम्बोधन गर्दैमा सरकारलाई फुर्सद छैन्, जनता पीडा कसले देख्छ ? सरकारी कर्मचारीलाई वार्षिक तलबभत्ता बढ्छ। तर, जनताको घट्छ। जनतालाई बिहानबेलुका पेट पाल्न गाह्रो छ, सरकारी कर्मचारीमाथि सरकार सेवासुविधा थुपारेको थुपारै छ।

अझै त्यतिले पनि नपुगेर उनीहरु भ्रष्टाचार गर्छन्। त्यस्ता भ्रष्टाचारीलाई जोगाउन पुरा सरकार नै लाग्छ। अनि यस्तो देश कहिले उमो लाग्छ ? सरकारी कर्मचारीलाई सेवासुविधा उप्रोमाथि थुप्रो लगाउनुको साटो जनताको पीडा पनि देख। पुतलीसडकमा दैनिक हजारौं नागरिक बाटो वारपार गर्छन्। त्यहाँ पुल बनाइदिए हुन्थ्यो।

पुल बने सडकमा प्रधानमन्त्रीलगायतका सवारी हुँदा ‘टाइम वेस्ट’ त गरेर बस्नुपर्दैन्थ्यो। अहिले पनि कति जिल्लामा पुल पुगेको छैन्। दैलेखमा खच्चड पुलमा अड्केको घटनाले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै चर्चा पायो। त्यसले नै नेताहरुको बिजीपनको नतिजा देखाइहाल्यो।

उनीहरु केमा बिजी रहेछन् भन्ने त त्यहीबाट छर्लङ्ग भइहाल्यो। देशको अवस्था हेर्यो भने जतापनि भताभुङ्ग छ। अझैपनि हामीले जनताका लागि यो गर्यौं, त्यो गर्यौं भन्न लाज लाग्दैन् ? केपी शर्मा ओली देशको पूर्वप्रधानमन्त्री हुन्। तर, उनले देशको लागि के गरे ? आफ्नो गृहजिल्लामा लगेर जनताले तिरेको कर भ्युटावरमा खन्याए।

तर, आजपनि कतिपय जिल्लामा सिटामोल पाइँदैन्। स्वास्थ्य चौकी छैन्। अनि उनले भ्युटावर बनाए भनेर जनताले ताली पडकाउने ? यस्तालाई नेता भन्न जनतालाई लाज लागिसकेको छ। माधव नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, पुष्पकमल दाहाल सबै उस्तै हुन्।

यिनीहरुलाई देख्नेबित्तिकै जनताको ‘रगत तातेर’ आउँछ। जनता खाईनखाई कर तिर्ने, यिनीहरु चाँहि मोजमस्ती गर्ने ? यिनीहरुको कारणले आज नेपाल कहाँ पुग्यो ? नेपालीहरु भेडाबाख्रा झैं बेचिरहेका छन्। जनताले के खोजेका थिए ? सुःख, शान्त र समृद्ध नेपाल होइन्।

तर, तिनले त्यो दिन सकेनन्। जनतालाई भेडाबाख्राझैं बेच्ने अनि आफू मोज गर्ने। यिनीहरुको सोच त्यतिमै सोच छ। आफ्नो विरोधमा बोलिदिने कोही भएन् भने त फाइदा भयो नि होइन्। जनता बिहान घरबाट निस्किएपछि बेलुका घर पुग्छन् कि पुग्दैनन् ? अत्तोपत्तो हुँदैन्।

न जेब्राक्रस छ न त आकाशे पुल। एक जना हिँड्न मुश्किल पर्ने फुटपाथ छ। देशमा तीन तहको सरकार छ,तीनै तहको सरकारले जनता लुटिरहेका छन् तर उपलब्धि केही छैन्। आधारभूत भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा जनताले ज्यान गुमाइरहेका छन्। सरकार जनताप्रति यति गैरजिम्मेवार छ कि के भन्ने ?

जनता भोट र करका लागि मात्रै जन्मिएकोजस्तो भएको छ। बाहिरी मुलुकमा केही घटना घट्यो भने सरोकारवालाले नैतिकताको आधारमा पनि पद छोडिदिन्छन्। हामीकहाँ त मान्छे मरेपछि टाउको गन्ने प्रवृत्ति छ। दुर्घटनामा परेर मान्छे मर्छ, सरकार मान्छे मरेछ भन्छ, सकियो।

हुन त भ्रष्टाचारको आरोप लागिसक्दासमेत त यिनीहरुले पद छोड्दैनन्। एक्काइशौं शताब्दीमा विश्व चलिरहेको छ, नेपालमा बाटो काट्ने जेब्राक्रससमेत छैन्। योभन्दा बढी विकास के होला ?