लागु औषध नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ: गृहमन्त्री लामिछाने
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागु औषधको समस्या विकराल भएको बताएका छन् ।
आज लागु औषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागु औषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महसुस गरेको बताए ।
लामिछानेले लागु औषधको दुर्व्यसनीमा युवाहरूलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । लामिछानेले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरूमा पनि कतिपयले इमानदारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए ।
उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत लागु औषधको दुर्व्यसनी फैलिएको बताए । उनले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको बताए ।