निःशुल्क स्वास्थ्य सेवा पारदर्शी बनाउन मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवा पारदर्शी बनाउन निर्देशन दिएको छ।

निजी अस्पताल, मेडिकल कलेजलगायतका देशभरका स्वास्थ्य संस्थाहरूले मन्त्रालय र मातहतका निकायहरूसँग सेवा सम्झौता गरी सेवा निःशुल्क तथा सहुलियतमा उपलब्ध नगराएको गुनासो आएको भन्दै मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवा पारदर्शी बनाउन निर्देशन दिएको हो।

निःशुल्क स्वास्थ्य सेवा पारदर्शी गराउन नसक्ने स्वास्थ्य संस्थाहरूलाई कानुनको दायरामा ल्याई कारबाही गरिने र सेवा सम्झौता रद्द तथा इजाजत अनुमति र नवीकरण रद्द सम्मको कारबाही गरिने चेतावनी मन्त्रालयको छ।

सबै सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले निःशुल्क स्वास्थ्य सेवाको सूचना नागरिकलाई स्पष्ट र सजिलै बुझिने गरी टाँस गर्नुपर्ने छ।

स्वास्थ्य संस्थाहरूले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठुला अक्षरमा निःशुल्क सेवाहरूको स्पष्ट जानकारी देखिने गरी सूचना टाँस्न मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य संस्थाहरूले कुल शय्याको १० प्रतिशत शय्यामा निःशुल्क उपचारको व्यवस्था गर्नु र निःशुल्क उपचार गरिएका बिरामीहरूको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ।

यस्तै, सेवाग्राहीको फोटोसहितको प्रगति प्रतिवेदन हरेक साता मन्त्रालयमा पेस गर्न सरोकारवाला सबैमा मन्त्रालयले आग्रह गरिएको छ।