दर्शनशास्त्रको विषय 

” सत्यको संज्ञान दर्शनको विषय हो ।”
                                            – हेगेल 
” दर्शन भनेको आफ्नो समयको विश्वको बौद्धिक सारतत्व हो।
                 – कार्ल मार्क्स 
 
      दर्शन भनेको के हो ?, दर्शनको जन्म कसरी भयो ?, विश्वको पहिलो दार्शनिक को थिए ? , विश्व अर्थात् प्रकृति र मानव समाजको जन्म कसरी भयो ?, यसलाई चलाउने शक्ति के छ ? आदि बारेमा मानिसले जान्न जरुरी छ । किनकि मानिस सबैभन्दा चेतनशील प्राणी हो । उसलाई दर्शनको आवश्यकता पर्दछ । किनकि उसले विश्व अर्थात् प्रकृति र मानव  समाजको  विकास र परविर्तनकाबारेमा जानकारी लिन आवश्यक हुन्छ र यो ज्ञान उसलाई दर्शनले मात्र दिन्छ । त्यसैले भनिन्छ ” दर्शनबिनाको मानिस जराबिनाको रुखसरह हुन्छ । 
        त्यसैले दर्शनको विषय जस्तो गहन र बृहत्तर विषयलाई सबै पाठकहरु र दर्शनलाई आफ्नो अध्ययनको विषय बनाउने र यसलाई जीवनव्यवहारमा आत्मसात गर्न चाहनेहरुका लागि बुझ्न सजिलो होस् भनेर यो दार्शनिक आलेख सरल भाषा र शैलीमा लेख्ने प्रयत्न गरिएको छ । दर्शनको विषय ज्यादै बृहत्तर विषय भएकोले यो संक्षेपमा लेखु भन्दाभन्दै पनि अलि ठूलो हुन गएको छ , आदरणीय पाठकहरुले मेरो बाध्यतालाई बुझिदिनु हुनेछ । 
 
(१) विषय प्रवेश : 
 
दर्शनको जन्म कसरी र कहिले भयो ? मानिसको पहिलो र महत्त्वपूर्ण जिज्ञासा हो । यसको निवारण गर्नु जरुरी हुन्छ । जब मान्छेले आफूलाई आवश्यक पर्ने वस्तुको उत्पादन गर्न संघर्ष गर्न थाल्यो , त्यसको प्रयोगका निम्ति वैज्ञानिक प्रयोग गर्न शुरु गर्ययो र जब मानव समाजमा वर्गको जन्म भयो , त्यसै बखत दर्शनको जन्म भएको पाइन्छ । जस्तै उत्पादनका निम्ति संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको हो भनेर पाइन्छ । आदिम साम्यवादी समाजको अन्त्य भई जब मानव समाज दासमालिक ( दासयुगिन राज्यव्यवस्था ) समाजको विकासप्रक्रियाका बीचबाट प्राचीन युनान , भारत , नेपाल र चीनमा दर्शन विकसित हुँदै आएको पाइन्छ ।
   दर्शन भनेको के हो त ? भन्ने प्रश्न हाम्रा सामु खडा हुन्छ । यहाँ विश्व भनेको पृथ्वी हो । विश्व अर्थात् प्रकृति र मानव ( हाम्रो ) जन्म कसरी भयो होला ?  यी सबै आफै जन्मिएका थिए कि कुनै काल्पनिक , अलौकिक शक्तिद्वारा जन्मिएका थिए ? साथै यति ठूलो प्रकृति र समाजको उत्पत्ति र विकास कसरी भयो होला ? यसलाई कुन नियमले चलाइरहेको छ होला ? यिनको आदि र अन्त्य छ कि छैन ? मानव जीवनका उद्श्ये , आदर्श , कर्तव्य र मूल्य मान्यता के के होलान् ? के मान्छेले प्रकृति ( पृथ्वी ) मानव समाजको सत्यतापूर्ण ज्ञान प्राप्त गर्न सक्छ कि सक्तैन ? के मानिस आफ्नो ज्ञान , सीप र व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र मानव समाजलाई बदल्न समर्थ छ कि छैन ? यी र यस्तै अनगिन्ती प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृतिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
 
(२) दर्शनको जन्म र विकास :
 
       महान् युनानी दार्शनिक पाइथागोरस एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता थिए । उनलेे दर्शनलाई बुझाउने फिलोसफी ( Philosophy ) शब्दको प्रयोग गरेका थिए । फिलोस ( प्रेम) र सोफिया ( विवेक ) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्यो , जसको अर्थ विवेक प्रेम वा विद्यानुराग हुन्छ ।
     प्राचीन  भारतमा पनि दर्शन शब्दको प्रयोग हुँदै आएको पाइन्छ र दर्शन शब्द संस्कृत भाषाको ” दृश् ” धातुबाट बनेको पाइएको छ ।” दृश् ” अर्थ हेर्नु , जाँच्नु र बुझ्नु भन्ने हुन्छ । यहाँ दर्शनलाई “सम्यक दृष्टि ” अर्थात् ” “युक्तिमुलक दृष्टि वा आन्वीक्षिकी विद्या ” भन्ने गरेको पाइन्छ । यहाँ  आन्वीक्षिकीको अर्थ तार्किक परीक्षणद्वारा सत्य पत्ता लगाउनु हुन्छ । प्राचीन तथा मध्याकाल हुँदै आधुनिक मालसामान आइपुग्दा दर्शन निकै विकसित एवं परिमार्जित बन्न पुगेको छ । यद्यपि पहिले दर्शन धेरै व्यापक अर्थमा प्रयोग गर्दै आएको पाइन्छ र यस अन्तर्गत ज्ञान – विज्ञानका प्रायः सबै शाखा पर्ने गर्दथे । परन्तु दर्शनको अन्तर्वस्तुको मूल आधार सत्यको खोज रहिआएको छ र यो सोँच अहिले पनि सुरक्षित नै छ । माथि पनि भनिएको छ कि महान् जर्मन दार्शनिक हेगेलका दृष्टिमा दर्शनको विषय ” सत्यको संज्ञान ” हो । वैज्ञानिक साम्यवादका सिध्दान्तकार एवं सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सले दर्शनलाई ” आफ्नो समयको विश्वको बौद्धिक सारतत्व ” बताउनु भएको छ ।विश्व भनेको प्रकृति र समाज भएकोले मान्छेले समसामयिक विश्वसंग अन्तर्क्रिया गर्दछ र यसैक्रममा “विश्वको बौद्धि ” सारतत्वकाा रुपमा दर्शनको प्रादुर्भाव हुन्छ । सर्वहारा वर्गका महान् नेता फ्रेडरिक एंगेल्सले यस प्रकारको दर्शनलाई ” विश्वदृष्टिकोण ” भन्नुभएको छ । तसर्थ दर्शन भनेको सर्वहारा वर्गको ” विश्वदृष्टिकोण ” हो भन्ने कुरा बुझाउँछ । 
    दर्शन भनेको के हो भन्ने अर्को प्रश्नको जवाफमा दर्शन भनेको सामाजिक चेतनाको एउटा विशिष्ट रुप हो । सवाल के हो भने वर्गसमाजमा सामाजिक चेतनाको रुप पनि वर्गीय हुन्छ । ठिक यसैकारण दर्शनको रुप वर्गीय नै हुन्छ । वर्गसमाजमा हरेक वर्गले आ- आफ्नो विचार , उद्शश्येे , मत , संकल्प , भावना एवं क्रियाकलापको आौचित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनको ठिक यसै आौचित्य पुष्टिको काम गर्दछ । यस अर्थमा हरेक दार्शनिक प्रणाली भित्र मूलतः तीन तत्व  पर्दछन्- वर्गीय पक्षधरता, सिध्दान्त र पध्दति । वास्तवमा यिनै तीन तत्वको समग्रताको नाम दर्शन अर्थात् विश्वदृष्टिकोण हो ।
 
(३) दर्शनशास्त्रको मौलिक प्रश्न :
 
       माथि पनि उल्लेख गरिएको छ , दर्शन के हो ? यसलाई कसरी बुझ्ने र परिभाषित गर्ने ? दर्शनको विषयवस्तु , अर्थ र महत्त्व के हो ? दर्शनमा के कस्ता प्रवृत्तिहरु छन् र तिनको बीचमा कसरी इतिहासदेखि संघर्ष चल्दै आएको छ ? यी प्रश्नहरुबारे आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम दर्शनशास्त्रको मौलिक प्रश्नबारे गहन अध्ययन गर्न जरुरी छ । यहाँ  यस र यिनै विषयवस्तुहरुमा केन्द्रित रहेर संक्षिप्त  रुपमा विश्लेषण तथा संश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
     दार्शनिक फाँटमा दर्शनशास्त्रको मौलिक प्रश्नकाबारेमा एंगेल्सले भन्नुभएको छ , ” समग्र दर्शनको र विशेषत: नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो ।” (१) । 
         यहाँ चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो ।यहाँ चिन्तन र सत्ता जस्ता दुई महत्त्वपूर्ण शब्दहरुको उल्लेख गरिएको छ , हामीले यी शब्दको वास्तविक अर्थ बुझ्न जरुरी छ । किनकि यहाँ प्रयोग गरिएको चिन्तन अन्तर्गत संवेदना , अनुभव ,इच्छा , संकल्प , भावना , विचार , अवधारणा , सिध्दान्त , दृष्टिकोण जस्ता चेतनाका विविध रुपहरु पर्दछन् ।यहाँ सत्ता भनेको अस्तित्व हो , विश्व ( पृथ्वी ) हो  । यस अन्तर्गत प्रकृति र समाज पर्दछन् । यस अर्थमा चिन्तन र सत्ताको सम्बन्धको प्रश्न विश्वददृष्टिकोणको प्रश्न बन्न पुग्दछ र यही नै दर्शनशास्त्रको मौलिक प्रश्न हो ।
      हामीले के कुरा गहन रुपमा बुझ्न जरुरी हुन्छ भने दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्त्वपूर्ण पहलुहरु छन्।
      पहिलो पहलु अन्तर्गत चिन्तन र सत्ताबीच प्राथमिकता क्रम निर्धारण गर्ने कुरा आउँछ ।
        दोस्रो पहलु अन्तर्गत चिन्तन र सत्ताबीचको आपसी अन्तर्क्रिया उद्घाटन गर्ने कुरा आउँछ ।
     चिन्तन र सत्तासितको संबन्धको पहिलो पहलुको उल्लेख गर्ने र त्यसमाथि विचरण गर्ने सवालमा ” आत्मा र प्रकृतिमा प्राथमिक कुन हो ? के ईश्वरले विश्वको सृष्टि गरेको हो ? जस्ता प्रश्नहरु हाम्रो सामु खडा हुन्छ । यसले दार्शनिकहरुलाई दुई कित्तामा विभाजित गरि दिएको छ । जसले ” आत्मा ” चेतनालाई पहिलो र  पदार्थ – प्रकृतिलाई दोस्रो स्थानमा राखे र चेतनाबाट पदार्थ – प्रकृतिको जन्म भएको हो  अर्थात् विश्वको सृष्टि ईश्वरले गरेको हो  भन्ने दार्शनिकहरु आदर्शवादी शिविरमा खडा हुन पुगे । 
      चिन्तनको सत्तासितको संबन्धको पहिलो पहलुको उल्लेख गर्दै एंगेल्सले भन्नुभएको छ , ” आत्मा” र प्रकृतिमा प्राथमिक कुन हो  , के ईश्वरले विश्वको सृष्टि गरेको हो या विश्व अन्तर्गत अनन्तकालदेखि नै अस्तित्वमा छ ?…… दार्शनिकहरुले यस प्रश्नको जुन उत्तर दिए त्यसले उनीहरूलाई दुई ठूला शिविरहरुमा खडा गरिदियो । जसले प्रकृतिको सट्टामा आत्मालाई प्राथमिकता दिए र …… आखिरमा कुनै न कुनै रुपमा विश्वको सृष्टि स्वीकारे … उनीहरूको अलग्गै आदर्शवादी शिविर खडा भयो । अर्का थरी जसले प्रकृतिलाई प्राथमिकता दिए ती भौतिकवादका विभिन्न शाखाहरुमा सामेल भए ।” (२)। 
       दर्शनशास्त्रको मौलिक प्रश्नको पहिलो पहलु के हो र त्यसको जवाफ दिने सन्दर्भमा दार्शनिकहरु कसरी आदर्शवाद र भौतिकवाद जस्ता दुई ठूला शिविरमा विभाजित भए भन्ने कुरा बुझ्नका लागि माथि एंगेल्सले भन्नुभएको भनाइले हामीलाई राम्रो आधार प्रस्तुत गर्दछ । यस अतिरिक्त आदर्शवाद र भौतिकवादका बीचमा समन्वय कायम गर्ने , दुबैलाई समानन्तर रुपमा लिने वा तटस्थ रहने तेस्रो धार पनि पाइन्छ । यसरी हेर्दा दर्शनशास्त्रको मौलिक प्रश्नको पहिलो पहलुको उल्लेख गर्ने सन्दर्भमा मूलतः तीन प्रवृत्ति पाइन्छन् : आदर्शवाद , भौतिकवाद र बीचका धारा । ती बीचका धारा अन्तर्गत द्वैतवाद , तटस्थतावाद वा समन्वयवाद आउँदछन् ।
      अब अर्को महत्त्वपूर्ण दर्शनशास्त्रको मौलिक प्रश्नको दोस्रो पहलुको चर्चा गरौं । यहाँ पनि सर्वहारा वर्गका महान् नेता फ्रेडरिक एंगेल्सका भनाइलाई लिन सकिन्छ । एंगेल्स अगाडिको भन्नुहुन्छ , ” चिन्तन र सत्ताको संबन्धको प्रश्नको अर्को पनि पहलु छ हाम्रा विचारहरुको वास्तविक विश्वसंग के सम्बन्ध छ ? के हाम्रो चिन्तनमा वास्तविक विश्वको सम्पूर्ण ज्ञान प्राप्त गर्ने क्षमता छ ? के हामी आफ्ना विचार र भावहरुमा वास्तविक विश्वको यथार्थताको प्रतिबिम्बन गर्न सक्तछौं । दार्शनिकहरुको भाषामा यस प्रश्नलाई चिन्तन र सत्ताको तादाम्यताको प्रश्न भनिन्छ र दार्शनिकहरुको प्रबल बहुसंख्यक भागले यस प्रश्नको सकारात्मक उत्तर दिन्छ ।” (३)
       एंगेल्सका माथिका भनाइबाट हामीलाई के जानकारी भयो भने चिन्तन र सत्ताको तादाम्यताको यस प्रश्नमा जसले सकारात्मक उत्तर दिने गर्दछन् ती भौतिकवाद र नकारात्मक उत्तर दिनेहरू अज्ञेयवादकोो श्रेणीमा पर्दछन् । चिन्तन र सत्ताको तादाम्यसंग सम्बन्धित प्रश्न विश्व , त्यसको सारतत्व र त्यसका नियमहरुलाई बुझ्ने र तदनुसार विश्वलाई बदल्ने विषयहरुसंग सम्बन्धित प्रश्न हो । यो प्रश्नको जवाफ दिनेमा भौतिकवाद , आदर्शवाद र विभिन्न बीचका धाराहरुका आ- आफ्नै मान्यता रहेको पाइन्छ । 
         कतिपय दार्शनिकहरुले दर्शनशास्त्रका विविध प्रवृत्तिहरुलाई प्राथमिक तत्वको संख्याका आधारमा पनि वर्गीकृत गर्ने गरेको पाइन्छ । जस्तैः अद्वैतवाद , द्वैतवाद , बहुलवाद । तर दार्शनिक प्रवृत्तिहरुलाई छुट्याउने मूल आधार प्राथमिक तत्वको संख्या न भई दर्शनशास्त्रको मौलिक प्रश्नको विवेचना नै हो ।
 
(४) दार्शनिक सिध्दान्त : आदर्शवाद र भौतिकवाद 
 
       दार्शनिक फाँटमा आदर्शवाद एक यस्तो दार्शनिक सिध्दान्त हो , जसले चेतना , आत्मा , संकल्प , विचार वा  ईश्वरलाई प्राथमिक मान्दै त्यसैबाट विश्व , पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्दछ विचार , आत्मा वा आदर्श ( Ideal ) जस्तो अभौतिक तत्वलाई प्राथमिक मानेकोले त्यस सिध्दान्तको नाम आदर्शवाद ( Idealism ) रहन गएको हो ।
      आदर्शवादका पनि दुई हाँगा छन् : वस्तुनिष्ट आदर्शवाद र व्यक्तिनिष्ट आदर्शवाद । मानिसको आत्मा वा चेतना भन्दा  बाहिरको कुनै सामान्य आत्मा , चेतना वा ईश्वरको अस्तित्वलाई प्राथमिक मान्नु वस्तुनिष्ट आदर्शवाद ( Objective Idealism ) हो ।  जस्तै : प्लेटोको परमतत्व वा आकृति ( Form ) , अद्वैत वेदान्तको परब्रह्म , हेगेलको निरपेक्ष विचार आदि । 
     जुन दर्शनमा व्यक्तिगत आत्मा , मन , संवेदना ,संकल्प , अनुभव , विचार आदिलाई प्राथमिकता दिइन्छ त्यसको नाम व्यक्तिनिष्ट आदर्शवाद ( Subjective Idealism) हो । जस्तैः वर्कलेको निजी विचार , फिक्टे अहम्, नित्सेको संकल्प , माखको संवेदना आदि । 
     आदर्शवादको ठिक उल्टो जुन सिध्दान्तमा ईश्वर व कुनै पनि सृष्टिकर्ताको निषेध गर्दै सत्ता अर्थात् विश्व अर्थात् प्रकृति , पदार्थ वा वस्तुगत संसारलाई प्राथमिक दर्जामा राख्ने र त्यसैबाट चिन्तनको जन्म हुने कुरा स्वीकार गरिन्छ , त्यसको नाम भौतिकवाद हो । पदार्थ ( Matter ) लाई प्राथमिक दर्जामा राखेकाले यसको नाम भौतिकवाद ( Materialism )  रहन गएको हो । जस्तैः पृथ्वी ,जल ,तेज , वायु , आकाशलाई प्राथमिकता दिने चार्वाक , प्रकृतिलाई प्राथमिकता दिने प्रारम्भिक कालको सांख्य दर्शन , आगोलाई प्राथमिकता दिने हेरेक्लाइटस , परमाणुलाई प्राथमिकता दिने डेमोक्राइटस , ताओ अर्थात् प्रकृतिलाई प्राथमिकता दिने लाओत्से र पदार्थलाई प्राथमिकता दिने बेकन , फायरवाख , कार्ल मार्क्स आदि ।  
      दार्शनिक फाँटमा केही यस्ता दार्शनिकहरु छन्  जसले चिन्तन र सत्ता ,आत्मा र  प्रकृति , चेतना र पदार्थलाई समानान्तर रुपमा प्राथमिक मान्ने , तिनमा समन्वय कायम गर्ने वा आफूलाई तटस्थता देखाउने गर्दछन् , तिनको दार्शनिक सिध्दान्तलाई द्वैतवाद , समन्वयवाद वा तटस्थतावाद भनिन्छ । जस्तै -आकृति र पदार्थलाई समानान्तर ढंगले ग्रहण गर्ने अरस्तु ,ईश्वर वा  परमाणु दुबैलाई प्राथमिक मानेर चल्ने न्याय- वैषेषिक, पुरुष र प्रकृतिको द्वैत अंगीकार गर्ने पछिल्लो कालको सांख्य दर्शन , आफूलाई तटस्थ देखाउने गौतम बुध्द ,तमाम प्रकारका प्रत्यक्षवाद ,व्यवहारवाद आदि ।
       विश्वलाई ज्ञेय अर्थात् बोधगाम्य मान्ने चिन्तनको संबन्ध ।भौतिकवाद र अज्ञेयवादको संबन्ध आदर्शवादसंग रहेको छ । यद्यपि हेगेल जस्ता आदर्शवादीहरुले विश्वलाई ज्ञेय अर्थात् बोधगाम्य मानेर भौतिकवादको नजिक पुगेका छन् । परन्तु तमाम प्रकारका शंकावादी र अज्ञेयवादीहरु विश्वलाई अज्ञेय मान्दछन् ह्युम र काण्टले विश्वलाई अज्ञेय मान्दछन् । परन्तु तमाम भौतिकवादीहरु र विशेषत: कार्ल मार्क्सद्वारा विश्वलाई बोधगाम्य मानिएको छ । संसारलाई ज्ञेय र अज्ञेय मान्ने चिन्तन ज्ञानसिध्दान्तसंग संबंधित रहेको छ । 
 
(५) दर्शनशास्त्रको पध्दति : द्वन्द्ववाद र अधिभूतवाद 
 
  विश्वको विकास प्रक्रिया र त्यसका नियमहरुको अध्ययन गर्ने चिन्तनप्रणनलीलाई दर्शनशास्त्रको पध्दति भनिन्छ । यो ज्ञानसिध्दान्तको प्रश्नसंग अभिन्न रुपमा जोडिएको छ ।दर्शनशास्त्रको इतिहासमा विश्वदृष्टिकोणका दुई आधारभूत पध्दति रहिआएकाा छन् , ती हुन् द्वन्द्ववाद र अधिभूतवाद ।
       द्वन्द्ववाद प्राचीन युनानी दिएलोगो ( Dialogo)  पदावलीबाट विकसित भएको हो यसको अर्थ हो बहसको कला । त्यस्तै अधिभूतवाद पनि प्राचीन युनानी मेटा- फिजिका ( Meta- physica) पदावलीबाट विकसित भएको हो । भौतिक विज्ञानभन्दा पर भन्ने अर्थात बुझाउँछ ।दर्शनशास्त्रको विकासको इतिहासमा यी शब्दहरु परिमार्जित हुँदै आएका छन् र आज यिनले निश्चित अर्थ वहन गर्दछन् । सामान्यतः हामीले द्वन्द्ववादलाई गति तथा परिवर्तन र अधिभूतवादलाई स्थिरताको  पदावलीको अर्थथमा बुझ्न सक्तछौं ।
   द्वन्द्ववाद र अधिभूतवाद परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन्  प्राचीन युनान ,चीन र हिमाली उपाहाद्वीपमा यी पध्दतिहरु विकसित भएको पाइन्छ ।हेरेक्लाइटसले संसारका हरेक वस्तुलाई निर्माण र विनाशको प्रक्रियाबाट परिणामका रुपमा विकसित हुने बताएका थिए । चीनमा ताओवादी दर्शन द्वन्द्ववादी थियो । नेपाली बुध्ददर्शन  क्षणभंगवादी र सांख्य दर्शन परिणामवादी अर्थात् परिवर्तनवादी थिए ।
      भारतमा जैन , बौद्ध , न्याय र युनानमा सुकरात , अरस्तु र चीनमा ताओवादी दार्शनिकहरुले वादविवादको पध्दतिमा आधारित तर्कशास्त्रको विकास गरेका थिए । मध्ययुगमा आध्यााात्ममवादका रुपमा अधिभूतवाद प्रभावी बनेर गयो । आधुनिक पुँजीवादी दर्शनमा अधिभूतवाद अन्तर्गत यान्त्रिकतावाद, भडुँवा विकासवाद जस्ता दार्शनिक पध्दति देखा पर्दै आएका छन् । आधुनिक दर्शनको इतिहासमा द्वन्द्ववादको विकास गर्ने श्रेय हेगेल र।कार्ल मार्क्सलाई छ ।हेगेलको द्वन्द्ववाद आदर्शवादी थियो तर मार्क्सको द्वन्द्ववाद भौतिकवादी रहेको छ ।
      द्वन्द्ववाद र अधिभूतवादबारे सर्वहारा वर्गका महान् नेता फ्रेडरिक एंगेल्सले भन्नुभएको छ , ” अलगअलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभूतवादले तिनका परस्पर संबन्धहरुहरुलाई भुल्दछ , तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ , वनलाई देख्न पाउँदैन । ….. यसका विपरीत द्वन्द्ववाद वस्तुहरु र तिनका मानस चित्रहरु अर्थात् विचारहरुलाई , तिनका आधारभूत संबन्ध , गति र आरम्भ र अन्त्यलाई ध्यानमा राखेर नै ग्रहण गर्नु पर्दछ ।” (४)
       
निचोडमा भन्नुपर्दा अधिभूतवाद र द्वन्द्ववादले विश्वबारे पुरै विपरीत तस्बिर पेश  गर्दछन् । अधिभूतवादले हरेक वस्तु र प्रक्रियालाई स्थिरता , अलगाउ, एकपक्षीयता र परिवर्तनहिनताको अवस्थामा देख्दछ । यसको उल्टो द्वन्द्ववादले हरेक वस्तु , प्रक्रिया र विश्वलाई गति , पारस्परिक , अन्त: संबन्ध , बहुविधता र परिवर्तनको अवस्थामा हेर्दछ । अधिभूतवादले विश्वको गलत तस्बिर पेश गर्दछ । यसको ठिक उल्टो द्वन्द्ववादले विश्वको सही तस्बिर पेश गर्ने काम गर्दछ । मूल रुपमा फरक यही हो ।
 
(६) दार्शनिक पक्षधरताको प्रश्न :
 
      दार्शनिक फाँटमा दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ ।वर्गसमाजमा विभिन्न वर्गका स्वार्थ रहरु टकराउँछन् र ती भिन्न विचारहरुका  रुपमा प्रतिबिम्बित बन्न पुग्छन् । ती भिन्न विचारहरुको आधारशिलामा विभिन्न विश्वदृष्टिकोणहरुको निर्माण हुन्छ । दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वनणद्ववाद र अधिभूतवाद बीच जुन संघर्ष चल्दै आएको छ , त्यो यसै वर्गीय वैचारिक संघर्षको प्रतिबिम्बन।हो । प्राचीन युनान , भारत र चीनमा संवत्: स्फूर्त भौतिकवादले त्यहाँको प्रगतिशील सामाजिक शक्तिको र त्यसका विपरीत आदर्शवादले प्रतिगामी वर्गको सेवा गरेका थिए । 
     युरोपमा मध्ययुगको अन्त्यतिर आदर्शवाद र भौतिकवादका बीच जुन संघर्ष चल्यो त्यो मरणशील सामन्तवाद र उदीयमान पुँजीपतिवर्गका बीचको संघर्षको अभिव्यक्ति थियो । आज तमाम प्रकारका आदर्शवाद र द्वन्द्वात्मक भौतिकवादका बीच जुन संघर्ष चलिरहेको छ, त्यो तमाम प्रकारका प्रतिक्रियावाद र क्रान्तिकारी जनसमुदाय , साम्राज्यवादमा गिरेको पुँजीपतिवर्ग तथा सर्वहारा वर्गबीचको जीवनमरणको वर्गसंघर्षको प्रतिबिम्बन हो ।
     भौतिकवाद र आदर्शवाद बीच भीषण संघर्ष चल्दै आएको छ । यस लडाइँमा जसले आफूलाई गैरपक्षधर ,तटस्थ वा तेस्रो धाराको हिमायती देखाउँने गर्दै आएका छन् वास्तवमा तिनीहरू प्रतिक्रियावादी वर्ग , तिनको वर्गहित विचारधाराकै प्रतिनिधि हुन् दर्शनशास्त्रको मौलिक प्रश्नमा आफूलाई तटस्थ , गैरपक्षधर वा आदर्शवाद तथा भौतिकवादभन्दा माथि उठेको देखाउने प्रत्यक्षवादी , माखवादी , संशोधनवादी लगायतका तमाम दार्शनिक प्रवृत्तिहरुमाथि प्रहार गर्दै लेनिनले भन्नुभएको थियो , ” इन्द्रियानुभविक आलोचनावादको ज्ञानमीमांसीय पांडित्यवादका पछाडि दर्शनमा पक्षधरताको संघर्षलाई , अन्तिम विश्लेषणमा आधुनिक समाजका शत्रुतापूर्ण वर्गीय अन्तर्विरोधहरुका प्रवृत्तिहरु र विचारधाराको प्रतिबिम्बनको संघर्षलाई देख्ने कुरामा विफल हुनुहुन्न । आजभोलिको दर्शन त्यत्तिकै पक्षधर छ जति दुई हजार वर्ष अगाडिको थियोे ।” (५)।
     कमरेड माओले वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्ष कै हुने कुरामाथि विशेष जोड दिनुभएको थियो ।उहाँले भन्नुभएको थियो , ” दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ । जग वर्गसंघर्ष नै हो ।त्यसपछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ । कसको दर्शन ? बुर्जुवा कि सर्वहारा वर्गको दर्शन ? सर्वहारा वर्गको दर्शन मार्क्सवादी दर्शन हो ।” (६) 
         अन्तिम संश्लेषणमा वर्गसमाजमा दर्शनको चरित्र वर्गीय हुन्छ । हरेक दर्शनले आफ्नो वर्गहित , विचार र राजनीतिक उद्देश्यको सेवा गर्दछ ।ठिक यसै कारण आजको युगमा मार्क्सवादी दर्शनले सर्वहारा वर्ग र पुँजीवादी दर्शनले पुँजीवर्गको सेवा गर्ने काम गर्दै आएका छन् । 
(७) दर्शनशास्त्रको विषयवस्तु :
 
        यहाँ दर्शनशास्त्र जस्तो महत्त्वपूर्ण विषयको विषयवस्तुबारे चर्चा गरिनेछ । दर्शनशास्त्रको विषयवस्तु अन्तर्गत दर्शनको विशिष्ट स्वत्व र परिधिको निर्धारण गरिन्छ । लामो ऐतिहासिक विकास प्रक्रियामा दर्शनको विषयवस्तु धेरै परिमार्जित बन्दै आएको छ र आज यसको विशिष्टिकरण हुन गएको छ ।
     प्राचीन भारतमा कौटिल्यले समग्र विद्यालाई चार भागमा विभाजित गरेका थिए । ती थिए – आन्वीक्षिकि ,त्रंयी, वार्ता र दण्डनीति । यी मध्ये आन्वीक्षिकीलाई दर्शनका रुपमा लिने गरिन्थ्यो । कौटिल्यको भनाइमा आन्वीक्षिकी आत्माको विज्ञान थियो । कतिलेे आन्वीक्षिकीलाई तर्कशास्त्र पनि मान्दथे र दर्शन त्योभन्दा अझै बृहत्तर विषय थियोे ।  
      त्रयी अन्तर्गत ऋगवेद, यजुर्वेद र सामवेद गरि तीन वेद पर्दछन् ।वार्ता भन्नाले कृषि , व्यापार आदिलाई लिइन्थ्यो ।  प्राचीन युनानमा अरस्तुले ज्ञानलाई मूलतः तीन भागमा विभाजित गरेका थिए , ती थिए- अनुभवमूलक ज्ञान , पदार्थविज्ञान र अधिभूतवाद । अरस्तुका भनाइमा अधिभूतवाद आध्यात्मविज्ञान थियो र त्यसलाई उनलेे प्रथम दर्शन भन्दथे ।उनका दृष्टिमा अधिभूतवाद सत्ताको शास्त्र थियो र जस अन्तर्गत पदार्थ तथा ईश्वरको अध्ययन गरिन्थ्यो ।यस अर्थमा दर्शन ज्ञानविज्ञानका सबै शाखाको उच्च ज्ञान वा विज्ञानको विज्ञान बन्न  गएको थियो ।
        आधुनिक युगसम्म आइपुग्दा ज्ञानविज्ञानका विविध शाखा – प्रशाखाहरुमा ठूलो विकास र प्रगति हुँदै गएको थियो । परन्तु दर्शनलाई ज्ञान विज्ञानका सबै शाखाहरुको उच्च ज्ञान वा विज्ञानको विज्ञान मान्ने चलन कायमै रहयो । जर्मन दार्शनिक लुडविक फायरवाखसम्म आउँदा पनि दर्शन विज्ञानको विज्ञान नै मानियो ।यो स्थितिमा सर्वहारा वर्गका महान्  नेताहरु  कार्ल मार्क्स – फ्रेडरिक एंगेल्सले एकातिर प्रकृति दर्शन तथा इतिहासदर्शनसंगै सम्बन्धित ज्ञान विज्ञानका विविध शाखाहरुलाई स्वतन्त्र विज्ञान वा शास्त्रको हैसियत प्रदान गर्नुभएको थियो भने अर्कोतिर दर्शनशास्त्रलाई आफ्नै स्वतन्त्र विषयवस्तुले समृद्ध एक विशिष्ट विज्ञानका रुपमा स्थापित गर्नुभएको थियो ।
     यसै सन्दर्भमा मार्क्सले भन्नुभएको छ , ” हरेक साँचो दर्शन आफ्नो ठोस समयको विश्वको बौद्धिक सार हो , त्यो समय पक्कै आउँछ जुनबेला दर्शन केवल आन्तरिक दृष्टिले आफ्नो अन्तर्वस्तुको आधारमा मात्र होइन परन्तु बाह्य दृष्टिले आफ्नो रुपको  आधारमा पनि आफ्नो समयको वास्तविक विश्वको सम्पर्कमा आउँछ र त्यससंग अन्तर्क्रिया गर्न थाल्छ । दर्शन त्यो बेला अर्को विशिष्ट प्रणाली रहन्न , त्यो विश्वको सम्बन्धमा सामान्यतः एक दर्शन , समकालीन विश्वको दर्शन बन्न जान्छ ।” (७)
     माथिका मार्क्सका यी भनाइबाट दर्शनको अन्तर्वस्तु, सारतत्व र रुपलााा बुझ्न आवश्यक मद्दत पुुुग्दद । प्रकृति र समाजबारे विविध रुपमा जानकारी प्राप्त गर्नु र तिनीप्रति प्रतिक्रिया जाहेर गर्नु दर्शनको अन्तर्वस्तु हुन आउँछ ।दर्शन समकालीन विश्वको बौद्धिक सार बन्न जान्छ । यसरी हेर्दा दर्शन वनस्पति विश्वको सत्यको ज्ञान प्राप्त गर्ने विशिष्ट शास्त्र बन्न जान्छ । त्यसपछि दर्शन अरु विशिष्ट प्रणालीहरुका सम्बन्धमा विशिष्ट प्रणाली अर्थात ज्ञान विज्ञानका सबै शाखाहरुमा प्रभुत्व स्थापित गर्ने प्रणाली नभएर विश्वको सामान्य दर्शन बन्न जान्छ। 
      दर्शन भनेको सामान्य दर्शन अर्थात् विश्वदृष्टिकोण हो । दर्शनको विषयवस्तु पनि यसै विश्वदृष्टिकोणक‍ो अध्ययनमा आधारित छ दर्शनको मूल विषयवस्तु दर्शनको मौलिक प्रश्न अर्थात् चिन्तन् र सत्ताको संबन्धको प्रश्न हो ।सत्ताको अर्को अर्थ विश्व हो , विश्व अन्तर्गत प्रकृति र समाज पर्दछन्। यसरी हेर्दा प्रकृति , समाज र चिन्तनका सामान्य नियमको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु बन्न जान्छ । कुनै पनि दार्शनिक प्रणालीमा मूलतः तीन तत्व हुन्- वर्गीय पक्षधरता, सिध्दान्त र पध्दति । वर्गीय पक्षधरता राजनीतिक विचारधारा , प्रवृत्ति र राज्यसत्तासंग संबंधित रहेको हुन्छ । यो सामन्तवाद , पुँजीवाद, वैज्ञानिक समाजवाद जस्ता विचारप्रणाली , व्यवस्था र प्रवृत्तिसंग गाँसिएको हुन्छ । चिन्तन र सत्ताबीचको संबन्धको प्रश्न दर्शनको सैद्धान्तिक पक्ष हो । यस अन्तर्गत आदर्शवाद,भौतिकवाद सहितका विविध दार्शनिक प्रवृत्तिहरुको अध्ययन गरिन्छ । सत्ता र चिन्तन अर्थात् प्रकृति , समाज तथा चिन्तनको विकास प्रक्रिया र तिनको पारस्परिक संबन्धलाई पध्दतिका दृष्टिले पनि अध्ययन गरिन्छ ।यो दर्शनको पध्दतिगत अध्ययनको विषय हो ।यस अन्तर्गत द्वन्द्ववाद र अधिभूतवाद सहितका विविध पध्दतिहरुको अध्ययन गरिन्छ । दर्शनमा वर्गीय पक्षधरता निश्चित वर्गको राजनीतिक विचारधाराद्वारा निर्देशित रहेको हुन्छ । यस अर्थमा दार्शनिक सिध्दान्त र पध्दतिको निर्माण वर्गीय राजनीतिक प्रवृत्तिको भूमिका निर्णायक हुन्छ । मार्क्सवादी – लेनिनवादी – माओवादी मान्यता अनुसार दर्शनको विषयवस्तु पनि ठिक यसै कुरामा आधारित रहेको छ ।
     दर्शनको परिधि अर्थात् सीमा त्यसको विषयवस्तुद्वारा निर्धारित हुन्छ । दर्शनको मूल विषयवस्तु त्यसको मौलिक प्रश्न हो । दर्शनले चिन्तन र सत्ताको संबन्धको अध्ययन गर्दछ । दर्शनले प्रकृति , समाज र चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्दछ र दर्शन वर्गीय विचारप्रणालीद्वारा निर्धारित हुन्छ।
     माओ त्सेतुङले आफ्नै विशिष्ट स्वत्वका रुपमा दर्शनशास्त्रलाई आदर्शवाद र भौतिकवा , अधिभूतवाद र द्वन्द्ववादको अध्ययन गर्ने शास्त्रका रुपमा लिनु भएको छ ।दर्शनशास्त्र के हो ? माओ त्सेतुङ अगाडि भन्नु हुन्छ , ” वर्गसमाजको उदय भएदेखि दुई थरिको ज्ञान देखिएको छ – उत्पादन – संघर्षको ज्ञान र वर्गसंघर्षको ज्ञान । प्राकृतिक विज्ञान यिनै दुई थरिकोो ज्ञानका निचोड  र दर्शनशास्त्र चाहिँ प्रकृति सम्बन्धि ज्ञान र समाज सम्बन्धि ज्ञानको सामान्यीकरण र एक्रीकरण हो ।”(९)
   कमरेड माओका यी माथिका भनाइहरुबाट ज्ञानविज्ञानलाई मूलतः तीन भागमा विभाजित गर्न सकिन्छ । – प्रकृति विज्ञान , सामाजिक विज्ञान र संश्लेषणात्मक ज्ञानको विज्ञान हो ।यी तीन विज्ञान मध्ये दर्शन संश्लेषणात्मक विज्ञान हो । तर यसको अर्थ दर्शन प्राकृतिक विज्ञान र सामाजिक विज्ञानबीच समन्वय कायम गर्ने विज्ञान होइन । किनकि दर्शनको आफ्नो स्वतन्त्र मौलिक विषयवस्तु छ , त्यो दर्शनशास्त्रको मौलिक प्रश्न हो जसले दर्शनशास्त्रलाई अन्य विज्ञानभन्दा स्वायत्त हैसियत प्रदान गर्दछ। यसका साथै दर्शनले विविध प्रकारका विचारहरुलाई एकीकृत गरि अखण्ड  विश्वदृष्टिकोण प्रदान गर्दछ।
            दर्शनलाई मौलिक प्रश्न , विश्वदृष्टिकोण र स्वतन्त्र विषयवस्तुबाट बन्चित गरि त्यसलाई प्रकुति विज्ञान र भाषाशास्त्रमा गिराउने जुन प्रवृत्ति हावी छ यो प्रवृत्ति वस्तुतः ध्वंसवादी , बहुलवादी र आदर्शवादी प्रवृत्ति हुन् । दर्शनशास्त्रको मौलिक प्रश्न , वैज्ञानिकता र वास्तविक विषयवस्तुलाई निषेध गर्ने अर्को प्रवृत्तिको नाम अतर्कबुध्दिवाद हो ।यसका प्रमुख प्रणेता नित्से हुन् र उनलेे दर्शनलाई संज्ञाणात्मक तथा विश्वदृष्टिकोणात्मक भूमिकाबाट बन्चित गर्दै आवेग , अलंकार र सहजवृतिको शास्त्रमा गिराउने काम गरेका छन् ।
         आज आफूलाई उत्तर – आधुनिकतावादी भनाउनेहरुले उक्त प्रत्ययवादलाई अंगाल्दै तथा त्यसमा विखण्डनवादलाई जोड्दै दर्शनको मौलिक प्रश्न , विषयवस्तु ,सैध्दान्तिक स्वरूप विश्वदृष्टिकोणात्मक मान्यतालाई अधिभूतवादी भनी लत्याउँँदै दर्शनलाई साहित्यशास्त्र , खलकारशास्त्रमा गिराउने काम गर्दै आएका छन् । यस धाराका मुख्य प्रवर्तक डेरिडा हुन् ।
     उपर्यक्त सबै कुरामाथि ध्यानदिंदा दर्शनलाई त्यसको मौलिक प्रश्न तथा स्वतन्त्र विषयवस्तुबाट बन्चित गर्ने , दर्शनलाई स्वतन्त्र विज्ञानका रुपमा अंगीकार गर्न नचाहने र त्यसलाई प्रकृति विज्ञान , भाषा दर्शन एवं अलंकारशास्त्रमा गिराउन चाहने विचारहरु नितान्त गलत हुन् । साथै दर्शनलाई परम्परागत अर्थमा ज्ञान विज्ञानका अन्य स्वतन्त्र शाखाहरुको मालिक बनाइराख्ने सोंच पनि गलत हो ।यसरी हेर्दा दर्शनको विषयवस्तु , परिधि र वैज्ञानिकताको मालेमावादी सोंच सही एवं वैज्ञानिक रहेको छ र यसलाई राम्रोसँग हृदयगम गर्न जरुरी छ ।
       
(८) दर्शनको महत्त्व :
 
        वर्गसमाजमा दर्शनको वर्गीय अर्थ र महत्त्व हुन्छ । वर्गसमाजमा दर्शनको वर्ग हैसियत , हित र विचारको प्रतिबिम्बन तथा प्रतिनिधित्व गर्दछ। वर्गसमाजमा कुन दर्शन सत्यको नजिक  र वैज्ञानिक  छ , त्यस कुराको टुंगो सम्बन्धित समाजको भौतिक अवस्था र सामाजिक व्यवहाद्वारा लगाइन्छ । 
    अब हामीले दर्शनको वास्तविक मूल्य र महत्त्व कुन कुरामा छ भने त्यसले प्रकृति र समाजको सत्यपूर्ण या झुट तस्बिर पेश गर्दछ । त्यसले हरेक वर्गका मान्छेलाई जुनसुकै रुपमा होस समस्या बुझ्न र तिनको समाधान प्ररस्तुत मद्दत पुर्याउछ । सबै दर्शन सत्यपूर्ण हुन्छन् भन्ने होइन । यसलाई समाज विकासको सापेक्षमा हेर्नुपर्छ र सही चिन्तनको विकास पनि ऐतिहासिक विकास प्रक्रियासंगै गाँसिएको हुन्छ ।यस परिपेक्षमा हेर्दा आदर्शवाद र अधिभूतवादले हेर्दा संसााारकोो गलत वा एकपक्षीय तस्बिर पेश गर्दछन् । तर संसारको सच्चा तथा समग्र तस्बिर प्ररस्तुत गर्न  द्वन्द्वात्मक भौतिकवादी दर्शन नै समर्थ छ ।
     मानव समाजमा सामाजिक चेतनाका विविध क्षेत्र – राजनीति , कानुन , नीतिशास्त्र , सौर्न्दर्यबोध , प्रकृति विज्ञान जस्ता अरु विभिन्न रुप र तिनमा आधारित शास्त्रले मान्छेको मनमा प्रकृति , समाज र चिन्तनको एउटा विशिष्ट पक्षको मात्र जानकारी दिन्छ । तर दर्शनले ती सबैको सामान्यीकरण गर्दै तिनलाई एकीकृत विश्वदृष्टिकोणका रुपमा समेट्ने गर्दछ । यदि सामाजिक चेतनाको क्षेत्रमा प्रकृतिविज्ञान र सामाजिकविज्ञानका विशिष्ट शाखा प्रशाखा मात्रै हुन्थे र दर्शन हुदैनथ्यो भने मानवीय ज्ञान र चिन्तनमा भयानक अराजकता पैदा हुन्थ्यो । प्रकृति र जीवनमा विविधता र विशिष्टता अवश्यै छन् ।तर त्यहाँ अखण्डता र सार्वभौमिकता।छ , ठिक यही कुरा चिन्तनको क्षेत्रमा पनि लागु हुन्छ । चिन्तनका अन्य शाखाहरुमा विविधता र विशिष्टता छ , परन्तु दर्शनमा अखण्डता र सार्वभौमिकता हुन्छ । ठिक यस अर्थमा हामीले दर्शनलाई चिन्तनको अखण्डता र सार्वभौमिकताको विज्ञान पनि भन्न सक्छौ । 
   आजको युग साम्राज्यवाद र सर्वहारा वर्ग बीचको भीषण संघर्षको युग हो । आजको यसप्रकारको युगमा सर्वहारा वर्गको दर्शन अर्थात् मार्क्सवादी – लेनिनवादी – माओवादी  दर्शन नै सुसंगत , क्रान्तिकारी र वैज्ञानिक दर्शन हो । 
     हामीलाई पूर्ण विश्वास छ , यस दर्शनले मात्रै सर्वहारा वर्ग र श्रमिक जनसमुदायलाई दुश्मनका विरुद्धको संघर्ष  र मुक्तिको दिशामा , पुरानोको ध्वंस र नयाँको निर्माणमा तथा संसारलाई बुझ्न र बदल्न , एवं भौतिक , वैचारिक र साँस्कृतिक रुपान्तरण गर्दै अगाडि बढ्नमा राम्रो मद्दत पुर्याउँछ । साथै मालेमावादी दर्शनले प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरुमा वैज्ञानिक विश्वदृष्टिकोण प्रदान गरेर नियमित र अनुसन्धानमूलक कामका लागि पनि यथेष्ट मद्दत पुर्याउँछ भन्ने हामी क्रान्तिकारीहरुलाई अटल विश्वास छ । 
 
(९) निष्कर्ष :
 
       दर्शन मान्छेको भित्री आँखा हो , जुन आँखाले उसले संसारलाई बुझ्ने र बदल्ने महत्त्वपूर्ण मद्दत प्राप्त गर्दछ। त्यसैले उसले दर्शन भनेको के हो ? दर्शनको मुख्य विषय के हो ? दर्शनको मौलिक प्रश्न के हो ? जसले दार्शनिकहरुलाई दुई कित्तामा भएको विश्वदृष्टिकोणलाई स्पष्ट पारिदिएको छ । दर्शनको जन्म विकास कसरी र कुन अवस्थामा भयो ? दर्शनका के कस्ता शाखा र धाराहरु छन् र कुन कुन युगमा कुन कुक दर्शनका धाराहरु प्रभावी बन्दै आए ?  विश्वमा के कस्ता दर्शनहरु छन् र तिनले कुन कुन वर्गको पक्षधरता प्रदान गर्दछन् ? मानिसलाई  दर्शनको किन आवश्यकता पर्दछ र दर्शनको मुख्य महत्त्व र दायित्व के हो ? आदि आदि विषयवस्तुमा मान्छेले जानकारी लिन अति जरुरी छ । 
      दर्शनको यस विषयले हामीलाई माथि उल्लेख गरिएका दर्शन सम्बन्धि विषयमा जानकारी लिन र अध्ययनलाई गहिराइमा पुर्याउँन महत्त्वपूर्ण मद्दत गर्नेछ । किनभने दर्शन ( विचार ) बिनाको मानिस जराबिनाको रुखसरह बन्न पुग्दछ ।
  
(१०) फूट- नोटहरु :
 
(१) मार्क्स – एंगेल्स संकलित रचनाएं , खण्ड ३ , भाग २ , पृष्ठ २२३, प्रगति प्रकाशन मास्को , १९७८ ।
(२) उक्त पृष्ठ २२४ – २२५ ।
(३) उक्त पृष्ठ २२४-२२५ । 
(४) मार्क्स – एंगेेेल्स संकलित रचनाएं खण्ड ३ , भाग १ , पृष्ठ १५९-१६०, प्रगति प्रकाशन मास्को , १९७८ ।
(५) Lenin : Materialism and Empiro – Criticism , p. 336 , Progress Publishers Mosscow , 1977.
(६) माओका दुर्लभ रचनाहरु पृष्ठ ९१ , खोजी प्रकाशन गृह काठमाडौं , २०६४ ।
(७) Max- Engles Collected Works , Vol. 1 , P. 195 , Progress publishers  , Mosscow , 1975. 
(८) मात्सेतुङका संकलित रचनाहरु , भाग ३ , पृष्ठ २१, सिर्जनशील प्रकाशन , अनामनगर , काठमाडौं , २०५७ ।
 
( लेखक : वरिष्ठ मार्क्सवादी लेखक एवं  अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।