काठमाडौं महानगरले जग्गाको मूल्य तोक्यो, सिंहदरबार क्षेत्रमा आनाको ५० लाख

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गाको मूल्य तोकेको छ । आउँदो आर्थिक वर्षको बजेटमा एक सय ७८ वटा ठाउँका जग्गाको सरकारी मूल्याङ्कन कायम गरिएको छ।

महानगरले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको मूल्य आनाको न्यूनतम चार लाख रुपैयाँदेखि ५० लाखसम्म तोकेको छ। जसअनुसार सिंहदरबार, माइतीघर, दरबारमार्ग लगायतका क्षेत्रमा जग्गाको सरकारी मूल्य आनाको ५० लाख तोकिएको छ भने सडकले नछोएको चक्रपथभन्दा बाहिरका जग्गाको मूल्य प्रतिआना न्युनतम चार लाखसम्म तोकिएको छ।

मनोहरापूल, अरनिको राजमार्ग, चक्रपथ तीनकुने, गैह्रीगाउँ, सिनामंगल, तिलगङ्गा, गौशाला, मित्रपार्क हुँदै चावहिल मालपोत कार्यालयको सिमानासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना २८ लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै पूतलीसडक, बागबजार हुँदै रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गा, पूतलीसडक कूमारी बैंक चोकदेखि पूरानो बसपार्कसम्मको मुलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको छ। तर महानगरपालिकाले निर्धारण गरेको मूल्यभन्दा निकै बढीमा जग्गाको कारोबार भइरहेको छ।