लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना ठगी आरोपमा पक्राउ

काठमाडौं । ललितपुरस्थित लालीगुँरास सहकारीका अध्यसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधान रहेका छन्।

उनीहरूमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो।

मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौंको विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो।

चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।