कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवा-ओली भेटबारे छलफल हुने

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसहितको बैठक बोलाएका छन्। उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजे आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन्।

देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि पदाधिकारी बैठक बोलाएका हुन्। ओली देउवा भेटबारे पनि बैठकमा छलफल हुने एक नेताले बताए।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए। उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ।