अन्तिममा रविको आक्रामक सक्रियता, भुटानी फाइल खोल्दा खैलाबैला

फाइल तस्वीर

काठमाडौं। नतिजा उन्मुख काम गरेर देखाउने भन्दै दोस्रो पटक सरकारमा सामेल भएका गृहमन्त्री रवि लामिछानेले काम गरेर देखाउँदा पनि त्यसको जस भने लिन सकेका छैनन्। सहकारीको कालो दागको धब्बा उनको मुहारमै लाग्दा उनी जसको भागिदार हुनबाट बञ्जित छन्।

संसारकै सबैभन्दा बलियो मुटु आफ्नो भएको दाबी गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धमाधम विभित्र काण्डमा मुछिएकालाई फन्दामा पार्न थालेका छन्। शुक्रबार नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका पूर्वगृहमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाका पुत्र प्रतीक थापालाई पक्राउ गरेका रविले शनिबार उक्त काण्डका मुख्य बिचौलियाका नायक बेचन झालाई अदालतमा पु¥याइ दिए।

त्यस्तै आइतबारमात्रै सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न लोसपाका नेता तथा मधेश प्रदेशका पूर्वसांसद कौशल यादवलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाई सकेका छन्। यी त उनले पछिल्लो तीन दिनमा गरेका काम मात्रै हुन्। अझै यस्ता दुई दर्जनभन्दा बढी भ्रष्टाचारका काण्ड खोल्ने तयारीमा गृहमन्त्रालय जुटेको छ ।

शरणार्थी काण्डको पूरक अनुसन्धान थालेर पुनः फाइल खोलेका रविले विद्युतीय चुरोटमा सुनको ओसारपसार गरेको आरोप लागेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि अदालतको कठघरामा उभ्याई दिए । राज्य सञ्चालनको प्रमुख खम्बा नै रहेको गृहले भ्रष्टाचार र काण्डको फाइल मात्र खोलेको छैन।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने समस्यालाई पनि सम्बोधन गर्ने कोसिस गरेका छन्। समस्यामा परेका नागरिकसँग प्रत्यक्ष टेलिफोन संवादबाट सम्पर्क गरेर विश्वस्त दिलाउने कार्य गरेका रविले समाधानका लागि सम्बन्धित निकायलाई अबिलम्ब निर्देशन दिने सकारात्मक कार्यको थालनी पनि गरेका छन्।

गृहमा रवि आइसकेपछि सुधारका कदम चाल्न नखोजेका होइनन्। गठबन्धन सरकारमा रहेर काम गरिरहेका रविलाई सत्ताका टाउके नेताको सल्लाह अनुसार नै काम गर्नु पर्ने बाध्यता छ।

गठबन्धन सरकारको बाध्यता वा उनको आफ्नै परिबन्धले उनी चुक्दा पटक पटक निसानामा पर्ने गरेका छन्। नागरिकता कीर्तेमा पक्राउ परेका सञ्चार उद्यामी कैलाश सिरोहियाविरुद्ध प्रहरीले डेढ महिना बितिसक्दासमेत मुद्दा चलाउन सकेको छैन।

६० किलो सुन प्रकरणमा ‘हाई प्रोफाइल’को सम्लग्नता बिना विमानस्थलबाट सुन बाहिरिएको सीआईबीले प्रतिवेदन निकाल्नु पनि शंकास्पद नै छ। सस्तो लोकप्रियताका लागि चर्को स्वरमा ठूला भाषणबाजी गरेर चिप्लिदा अब भने बोलीमा लगाम लगाउनु पर्ने परिस्थितिमा रवि पुगेका छन्।

सत्ता गठबन्धनकै नेता मुछिने काण्डको फाइल खोलिरहेका रविले जनसरोकारका विषयमा पनि चासो दिएर काम गरिरहेका छन् । तर पनि सहकारी ठगीको आरोपबाट नउम्केसम्म उनले जतिसुकै राम्रो काम गरे पनि जसको भागिदार हुने अवस्थामा उनी छैनन् । सरकार कुन दिन जाने हो ठेगान नभएका गृहमन्त्रीमाथि प्रश्नको हमला भइ नै रहेको छ।

देश र जनतामा सुशासनको प्रत्याभूत गराउन दोस्रो पटक गृहको बागडोर सम्हाल्न आएका गृहमन्त्री लामिछानेको पछिल्लो कदम प्रशंसा योग्य छ । तर, उनले गरेका सबै सकारात्मक कार्यमा सहकारी ठगीको कालो दाग लाग्दा उनी आलोचनाका पात्र बनेका छन्।

रविले कामै नगरेकोभन्दा पनि उनको बद्नामीले गर्दा जसको भागीदार हुनबाट उनी बञ्चित बनेका छन्। छोटो समयमा नै राजनीतिमा सफलता हात पारेका रवि सत्ता यात्रामा भने अभागी देखिएका छन्।