कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौं । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो।

जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए ।

उनका अनुसार जिल्लाका पाँच पालिकाका ७२ वडाका कुल ३० हजार ७४ बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

कास्की जिल्लालाई विसं २०७५ असार २७ गते पहिलोपटक पूर्ण खोप घोषणा गरेपश्चात नयाँ जन्मने तथा अन्यत्रबाट जिल्लामा आई बसोबास गर्ने सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको पाएको उनले बताए ।

स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ ।

सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।