दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार

सांकेतिक तस्वीर

खोटाङ । दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका सहाराविहीन दुईजनाको उद्धार गरिएको छ । शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडकपेटीमा जीवन बिताइरहेका एक महिला र एक पुरुषलाई प्रहरीले उद्धार गरेर मानवसेवा आश्रम विराटनगर पठाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत उनीहरुलाई बिहीबार साँझ मानवसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

अन्दाजी ३०र३५ वर्षका ती पुरुष स्थानीय बासिन्दाले दिएको खानेकुरा खाएर खुला आकाशमुनि बस्दै आएका थिए । बोल्न नसक्ने भएकाले उनको नाम थर एवम् ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ शङ्खु घर र हस्तकला राई नाम बताउने अन्दाजी ४५र४६ वर्षीया मानसिक समस्या भएकी महिलाको पनि उद्दार गरिएको छ।

नगरप्रमुख तीर्थराज भट्टराईले बेसहारा बनेका व्यक्तिको जीवनयापन तथा सडक मानवमुक्त बनाउन नगरपालिकाले प्रहरीसँगको सहकार्यमा कार्यक्रम गरिरहेको बताए।