मुगुमा अत्याधुनिक हतियारसहित लुटपाटमा संलग्न तीनजना पक्राउ

मुगु । अत्याधुनिक हतियारसहित प्रहरीले एक लुटेरा समूहलाई पक्राउ गरेको छ। आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले हतियार देखाएर लुट्ने समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो।

पक्राउ परेका ६ जनामध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन्। घटनामा संलग्न अन्य ५ जना फरार रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

प्रहरीले पक्राउ परेकाहरुको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्यागेजिन, २५ राउन्ड गोली, ३ थान वकीटकी, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याट ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ।

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको थियो। लुटेरा समूहले गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयहरूले जाहेरी दिएका थिए।

घटना भएको झन्डै एक महिनापछि लुटपाटमा संलग्न आठ जनामध्ये प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक थापाले बताए।