नक्कली लाइसेन्स प्रकरणः १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर व्यक्तिगत लाभ लिएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता युवराज शर्माका अनुसार यातायात व्यवस्था कार्यालयका तत्कालीन प्रमुख केशव अर्यालसहितलाई १५ जनालाई विपक्षी बनाएर मुद्दा दायर भएको हो।

उनीहरूको काठमाडौं जिल्ला अदालतले सोमबारदेखि नै बयान सुरु गरिसकेको छ । यातायात व्यवस्था कार्यालय बुटवलमा प्रमुख हुँदा अर्यालले करारमा काम गरेर हटाइएका कम्प्युटर अपरेटरको यूजर प्रयोग गरेर नक्कली लाइसेन्स बनाएको आरोप छ ।

बुटवल कार्यालयका अधिकृत सुवास पौडेल, राजेश लम्साल, कम्प्युटर अपरेटरहरू दिलीपकुमार साह, केशव पौडेल र पदमराज आचार्य प्रहरी हिरासतमा छन्।

यस्तै, मुद्दामा प्रतिवादी बनाइएका लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दीप श्रेष्ठ भने फरार सूचीमा छन्।

यातायात व्यवस्था विभाग मीनभवनको पत्रपछि सीआईबीले अनुसन्धान गरेको थियो । विभागले अहिले केन्द्रीय सवारी चालक अनुमतिपत्र प्रणाली ९ईडीएल०को सञ्चालन र व्यवस्थापन गर्दै आएको छ।

यो प्रणालीमा परीक्षार्थीको व्यक्तिगत अभिलेख, परीक्षासम्बन्धी अभिलेख र सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी विवरण भण्डारण राखिने बताइएको छ । ईडीएल प्रणालीअघि सवारी लाइसेन्स डीएल प्रणालीमा थियो। त्यही प्रणालीबाट नक्कली साइसेन्स बनाइएको हो।

अहिले डीएल प्रणालीमा भएको विवरण ईडीएलमा स्थानान्तरण गर्ने क्रममा कर्मचारीकै मिलेमतोमा फर्जी अनुमतिपत्र वितरण गर्ने गरेको खुलेको थियो ।

त्यही आधारमा विभागले आन्तरिक छानबिन गरी सीआईबीलाई पत्राचार गरेको थियो। कर्मचारीहरूको यूजर आइडीबाट फर्जी विवरण प्रणालीमा इन्ट्री गरी नक्कली अभिलेख खडा गरेर लाइसेन्स जारी भएको विभागले जनाएको छ।