प्रधानमन्त्री बन्ने माधवको सपना अधुरै,प्रचण्ड–ओलीको लडाइँले उग्ररूप लिदै

काठमाडौं। २०७९ सालको आम निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा व्यक्त गर्दै आएका छन्।

तर उनी प्रधानमन्त्री बन्ने आधार पटक पटक तय भएपनि भत्किँदै आएको छ। माधव यही संसदबाट प्रधानमन्त्री बन्ने आधार नजिक दुई पटक पुगिसकेको छन्।

पहिलो पटक, निर्वाचन सम्पन्न भएलगत्तै काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदै प्रधानमन्त्री बन्ने आधारमा बनेको थियो।तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी नतिजासँगै उनलाई एक वर्ष प्रधानमन्त्री दिने काँग्रेस र माओवादीबीच सहमति थयो।

सो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले २÷२ वर्ष र बाँकी एक वर्ष माधव प्रधानमन्त्री बन्ने सहमति भयो। यद्यपि देउवा र प्रचण्डबीच पहिलो चरणमा को प्रधानमन्त्री बन्ने ? भन्नेमा विवाद उब्जियो। तर यहीबीचमा प्रचण्ड काँग्रेस छोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगे।

यो परिघटनासँगै माधवको प्रधानमन्त्री बन्ने पहिलो आधार भत्कियो। दोस्रो एमालेसँगैको सत्ता समीकरणमै माधवको प्रधानमन्त्री बन्ने आधार तय भएको थियो। एमालेसँगको सरकार बनेपछि पनि माधव उक्त समीकरणमा बोलावट भए। त्यसअघि उनी काँग्रेसँगको वैकल्पिक गठबनधन बनाएर प्रधानमन्त्री बन्न पनि खोजे। तर पर्याप्त आधार भेटेका थिएनन्।

एमालेसँगको सिसिइवीका बाबजुत गठबन्धनमा आउँदा माधवले प्रधानमन्त्री पद नै ‘डिल’ गरे। उनको यो मागमा प्रचण्ड र एमाले अध्यक्ष ओली पनि हदसम्म लचक भएको बताइन्थ्यो। तर ओली कुनै लिखित समझदारी गर्न भने मानेन्। लिखित रुपमै समझदारी नभएपनि ओलीले मौखिक रुपमा हुन्छ भनेपछि माधवमा प्रधानमन्त्री बन्ने झिनो आशा भने कायमै थियो।

तर उता ओलीको भने त्यो बेलामै माओवादीसँगको समीकरणमा शंका राखेको अहिले पुष्टि भएको छ। ओलीले सो बेला लिखित समझदारी नगर्नु नै भविष्यमा समीकरण फेरिन सक्ने अनुमान हो।

सोही अनुसार नै ओलीले लिखित सहमति गरेका थिएनन्। अहिले उक्त समीकरण भत्किाएर काँग्रेस–एमालेको गठबन्धन बनिसकेको छ। यो सँगै माधवको प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको छ।

नयाँ समीकरणमा माधवलाई छैन स्पेश

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेका छन्। प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने वितित्कै काँग्रेस र एमाले सरकार बनाउन तम्तयार छन्।

उनीहरुबीच विभिन्न बुँदामा लिखित समझदारी पनि भइसकेको छ। भन्नमा राष्ट्रिय सरकार भनेका काँग्रेस–एमालेले ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेका छन्। दुईदलबीच प्रदेशहरुको नेतृत्व र मन्त्रालयको भागबण्डा पनि गरिरहेका छन्। यद्यपि उनीहरुले दावी गरेजस्तो राष्ट्रिय सरकार बनाउने छाँटकाँट देखिँदैन।

संविधान संशोधन र आफू नेतृत्वको सरकारविरुद्ध रातारात गरेको सम्झौताकै कारण माओवादी प्रतिपक्षमा बस्ने देखिन्छ।

यही कारण पनि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएर विपक्षीलाई संवैधानिक अफ्ठ्यारोमा पर्ने राण्नीति लिँदैछन्। प्रधानमन्त्रीको यो कदमलाई माधव नेतृत्वको एकीकृत समाजवादीले पनि साथ दिने भएको छ।

आफ्नो महाधिवेशन चलिरहेकै अवस्थामा नेकपा एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने भनिसकेको छ। प्रचण्डलाई सहयोग गरेकै कारण अब बन्ने ओली नेतृत्वको नयाँ सरकारमा माधवलाई स्पेश रहने देखिँदैन।

केपी–माधव पानी बाराबार

संसद विघटनपछि एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी खोलेका माधव र केपीबीच अझै समबन्ध सुध्रिएको छैन। नेकपा विभाजनपछि शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो।

त्यो बेला एमाले प्रतिपक्षी कित्तामा रह्यो भने माओवादी र नेकपा एकीकृत समाजवादी सत्तासाझेदार बने। सो बखत पार्टी फुटाएर पारि कित्तामा हामफालेका माधवलाई ओलीले देखिसहँदैनन्।

पार्टी गठनपछि पहिलो पटक चुनावको सामना गरेको नेकपा एकीकृत समाजवादीले गत निर्वाचनमा प्रत्यक्षतर्फ १० सिटमा जित हाँसिल गरेको छ। यही सिट र गठबन्धनको बलमा माधवले प्रधानमन्त्री बन्ने सपना देख्दै आएका छन्। तर माधवको यो सपनामा एमाले अध्यक्ष ओली सँधै बाँधक बन्दै आएका छन्।

राष्ट्रिय दल पनि बन्न नसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी–काँग्रेस, माओवादी–एमाले दुवैको गठबन्धनबाट प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा राखेका थिए।

परिस्थिति अनुसार उनलाई प्रधानमन्त्री बन्ने आधारहरु पनि मिलेको थियो। तर उक्त आधारहरु पटक पटक टुट्दै आएका छन्।पछिल्लो पटक बनेको काँग्रेस– एमाले समीकरणले फेरि माधवलाई प्रधानमन्त्री बनाउने समझदारी तोडिदिएको छ।