नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग: संयोजक थापा

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको देखिएको जनाएको छ।

बिहीबार सिंहदरबारमा बिभिन्न सरोकारवाला निकायसँगको छलफलमा राज्यका नियमनकारी निकायहरुले ध्यान नदिदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरुले मौका छोपको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

सहकारी क्षेत्रमा संरचनागत प्रवन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउदै नवनाउने, नियमनकारी निकायहरु कमजोर हुने र दोश्रो चरणको नियमनकारी निकाय २० बर्षसम्म छलफलमा मात्रै सिमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए।

बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार बिभागका महानिर्देशक, आन्तरिक राजस्व बिभागका महानिर्देशक लगाएतसंग सहकारी क्षेत्रको समस्याका बारेमा छलफल गरेको समिति संयोजक थापाले जानकारी दिए।

संविधानले अर्थतन्त्रको महत्वपूर्ण खम्वाका रुपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको बिकृति, बचत अपचलन लगाएतका समस्याको समधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ।