पहिरोमा परेर एकै परिवारका सातसहित ९ जनाको मृत्यु, दुई बेपत्ता

फाइल तस्वीर

पोखरा। अविरल वर्षासंगै पहिरो खस्दा कास्कीमा एकै परिवारका सात जनासहित ९ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा बिहीबार राति १० बजेको समयमा उक्त घटना भएको हो । पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको शर्माले बताए । राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको हो ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा ११ वर्षीया अनुस्का ओझा बेपत्ता भएकी छिन् ।