प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) विश्वासको मत लिँदैछन्।

विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

सत्ताको प्रमुख घटक एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्। उनी पाँचौपटक विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ । तर प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ । यसअघि सत्ता साझेदार रहेका अन्य दलहरुले भने समर्थन फिर्ता लिँदै विश्वासको मत नदिने निर्णय दिइसकेका छन् ।

प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेस र भर्खरै सरकारबाट बाहिरिएको प्रमुख सत्ताधारी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरिसकेको छ।

राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका पार्टीहरूले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।