सुदूरपश्चिमका मुख्यमन्त्री सोडरीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

काठमाडौं। विशेष अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडरीकी पत्नी गीता सोडारीलाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ।

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले करिब दुई वर्षअघिको मुद्दामा उनलाई दोषी ठहर गरेको हो।

बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एकै तहका दुई वटा नक्कली शैक्षिक प्रमाणपत्र बनाई त्यसका आधारमा राहत शिक्षक नियुक्त भएको अभियोग सोडारीमाथि लगाइएको थियो।

अदालतले सोडारीलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा छ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला गरेको छ। फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदनको सुविधा पाउने छन्।

सोडारीले नक्कली प्रमाणपत्रका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–९ को शिव निम्न माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकको नियुक्ति लिएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो। अख्तियारले २०७९ असोज ७ गते मुद्दा दायर गरेको थियो।