वेपत्ता दुई बसमा सवार यात्रुको परिचय खुल्यो (नामसहित)

काठमाडौं। मुग्लिन–नारायणगढ सडकको सिमलतालबाट लेदोसहितको पहिरोले बगाएर वेपत्ता भएको भनिएको बसमा सवार यात्रुहरुको परिचय खुलेको छ।

शुक्रबार बिहान साढे ३ बजेको समयमा वीरगञ्जबाट काठमाडौं आइरहेको एञ्जल डिलक्स र काठमाडौंबाट रोतहटको गौर गइरहेको गणपति डिलक्सको बस लेदोसहितको पहिरोमा पुरिएर वेपत्ता भएको थियो। उक्त दुई बसमा सवार यात्रुहरुको परिचय खुलेको छ।

काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको गणपति डिलक्समा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए। दुई जना बीच बाटोबाट चढेका थिए। बस किशोर कुमार चौधरीले चलाएका थिए।

सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन। नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ। यसैगरी नन्दु,अमिता,हरिचन्द्र,शम्भु, नवीन,ओम,राजकिशोर,शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ।

नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ। यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ। जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन।

वीरगञ्जबाट काठमाडौं आइरहेको एञ्जल डिलक्समा भने चालक र सहचालक सहित २३ यात्रुहरु सवार रहेको खुलेको छ। जसमा उनीहरुको पूरा विवरण खुलाइएको छैन। उनीहरुमध्ये १४ जनाको मात्रै नाम खुलेको छ। त्यसका चालक जवाहीर महतो, सहचालक रामकुमार लामिछाने रहेको छन्।

तर बसमा सवार तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन्। अन्य यात्रुहरुको अवस्था अज्ञात छ। घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ।