बेपत्ता दुई बस खोज्न फेरि घटनास्थलमा सुरक्षाकर्मी

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ। त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको छ।

काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।

हिजो घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको थियो। एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ ।

प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन्।

उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता।

दुर्घटनामा घाइते भएका उनीहरू मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए। उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तकोमा बसेका छन्।