ओलीलाई प्रधानमन्त्रीमा रोक्न प्रचण्डको शीतल निवासलाई दबाब,देउवा के गर्दैछन् त ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता–यात्रा समाप्त भएको छ। पहिलो पटक संसदमा रहेका अधिकांश दलबाट अभूतपूर्व समर्थनसहित विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री प्रचण्ड पाँचौ पटक विश्वासको मत गुमाउँदै सत्ताच्यूत हुन पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सदनमा विश्वासको मत पाउँ भनी पेश गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्छ।

तर संसदमा उपस्थिति दुई सय ५८ सांसद संख्यामध्ये प्रधानमन्त्री प्रचण्डले जम्मा ६३ मत प्राप्त गरे। जसमा माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१ र नेकपा एकीकृत समाजवादीको १० रहेको छ।

एकजना तटस्थ रहँदा प्रस्तावको विपक्षमा १ सय ९४ मत खस्यो । योसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन्। २०७९ पुष १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आडमा प्रधानमन्त्रीको तेस्रो इनिङ सुरु गरेका प्रधानमन्त्री प्रचण्ड ओलीकै कारण १८ महिनापछि सत्ताच्यूत भएका हुन्।

पुष १० मा प्रधानमन्त्री बन्दै पुष २६ मा पहिलो पटक विश्वासको मत लिँदा सदनको सत–प्रतिशत अभूतपूर्व समर्थन पाएका प्रधानमन्त्री प्रचण्ड पाँचौ पटक भने विश्वासको मत गुमाउन पुगे।

असार १७ मा एमाले–कांग्रेस समीकरणको सहमति हुनासाथ राजीनामाको दबाब झेल्दै आए पनि संवैधानिक अधिकार प्रयोग गर्ने अडानसहित सदनको सामना गरेका प्रचण्डले सदनको विश्वास गुमाएका हुन्।

यससँगै ९ वर्षदेखि निरन्तर सत्तामा रहेको माओवादी प्रतिपक्षी कित्तामा पुगेको छ। असार १७ गते नै अल्पमतमा परेपनि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न अनेक प्रपञ्च रचेका प्रचण्डले अझै पनि ओलीमाथि नै केही संवैधानिक प्रश्नहरु उठाउँदै बिदा भएका छन्।

गत वर्षको चैत ६ गते दोस्रो पटक विश्वासको मत लिँदा उपस्थित सङ्ख्या २ सय ६२ रहेकोमा विश्वासको मतको पक्षमा १ सय ७२,विपक्षमा ८९ मत परेको थियो। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाएका थिए। तेस्रो पटक तत्काल उपस्थित संख्या २ सय ६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका थिए।

चौथो पटक प्रधानमन्त्रीले संसदमा राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १५७ सांसदले साथ दिएका थिए।तर, पाँचौ पटक प्रचण्डले संसदको विश्वास गुमाए। यसले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै एमाले–कांग्रेस समीकरणमा नयाँ सरकार निर्माण प्रक्रिया अघि बढेको छ।

संसदको पहिलो र दोस्रो शक्ति मिलेर बन्न लागेको भावी सरकारबारे चासो हुनु स्वभाविक छ। तर संसदीय खेल र राजनीतिक दलका नेताहरुबीचको घोचपेच तथा व्यंग्यबाण बढ्दै गर्दा नयाँ समीकरण र सत्ताको आयु कतिन्जेल हो भन्ने आशंकालाई अस्वभाविक मान्न सकिन्न।

दलीय भागबन्डालाई व्यवस्थापन गर्दै सत्ता टिकाउनु आफैँमा महत्वपूर्ण कुरा हो। तर, ९ वर्षपछि सत्ताबाट माओवादी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ। लामो समय सत्तामा रहेर रजगज गरेको माओवादीलाई अहिलेको पीडा भुल्न भने अझै केही समय लाग्ने नै छ।

अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ,प्रचण्ड, फेरि कम्युनिस्ट पार्टी र माओवादी धारामा रहेकाहरूलाइ पुन: पार्टी एकताको कुरा गरेर एमाले अध्यक्ष केपी ओलीलाइ धम्काउने प्रयास जारी राख्ने नै देखिन्छ।

उसो त प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाइ पनि प्रधानमन्त्री बनाउछु भनेर ओली र देउवा समिकरण बदल्ने केशी भने गरिनै रहने देखिन्छ। उथलपुथल गर्ने प्रचण्ड फेरि पनि देउवा,ओली बीच खेलेर पुन: उथलपुथल ल्याउन कसिने देखिन्छ तर काँग्रेसले भने तत्काल प्रचण्डका कुरा पत्याउन सक्ने अवस्था भने न्यून नै रहेको देखिन्छ।