चौथोपटक स्पेनले जित्यो युरोकपको उपाधि

काठमाडौं । स्पेनले चौथोपटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथोपटक युरोकपमा कीर्तिमान बनाएको हो ।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथोपटक युरो च्याम्पियन बन्यो ।

यसअघि स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलोपटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ।

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल जित्यो। समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–०ले पराजित गर्दै क्लिनसिट राखेको थियो।

यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ को नतिजामा पराजित गरेको हो।