सिमलताल दुर्घटनामा ११ शव भेटिए, ७ को सनाखत

काठमाडौं। नारायणी नदीमा भेटिएका थप दुई शव सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका यात्रु भएको पुष्टी भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार त्रिवेणीमा फेला परेका दुई शवमध्ये एउटा शव वीरगन्जबाट काठमाडौं आइरहेको बसका यात्रु भरतपुर महानगरपालिका–२२ पटिहानी पदमपोखरीका २२ वर्षीय सुदीप विक रहेका छन्।

अर्को शव भने काठमाडौंबाट गौर जाँदै गरेको बसका यात्रु रौतहट जिल्ला जमुनामाई–४ का १७ वर्षीय फिरोज राहुप मियाको रहेको डीएसपी रिजालले जानकारी दिए।

शुक्रबार बिहान साढे ३ बजेतिर नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा वेपत्ता भएको छ। प्रहरीका अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए। जसमा तीनजना यात्रु सकुशल रहेका छन्।

दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन भने खोजी र उद्धारका क्रममा हालसम्म ११ जनको शव भेटिएको छ। जसमा ७ जनाका आफन्तले सनाखत गरेका थिए।