आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै महाशाखाले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ।