‘अपराधी’ जोगाउन सत्ताको दुरुपयोग, पार्टी नेतृत्व अगाडि नेताहरु सँधै मौन
अनुसा थापा
२०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भए। नेपाली काँग्रेसले फागुन २८ गतेदेखि सदन अवरोध गर्यो। सहकारी ठगीमा रविमाथि छानबिन हुनुपर्ने माग गर्दै लामो समय सदन अवरुद्ध गरियो। रविलाई रोष्टमसम्म जान पनि दिइएन्।
उनले पटकपटक आफ्नो कुरा राख्न दिन भने तर काँग्रेसले मानेन् । उनले सदन सचिवालयमा पनि बोल्न पाउनुपर्ने माग राख्दै निवेदन दर्ता गराए। काँग्रेसको आरोप थियो,‘रविले सहकारीको पैसा ल्यायो तर फिर्ता गरेन् ।’ अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन्।
काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवापत्नी आरजु देउवा परराष्ट्रमन्त्री भएकी छिन् । ओलीमाथि सरकारी जग्गा हिनामिनाको आरोप छ । यसका प्रमाणहरु पनि बाहिर आइसकेका छन् । उनी स्वयमंले प्रधानमन्त्री हुँदा २०७८ वैशाख ७ गते र वैशाख १३ गते मन्त्रिपरिषद्बाट झापाको गिरीबन्धु टी–स्टेटको जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गरेका थिए ।
सर्वोच्च अदालतले ओलीको निर्णय उल्टाइदिइसकेको छ । गिरीबन्धुको जग्गा सरकारकै नाममा ल्याउने सर्वोच्चको आदेश छ । आरजुमाथि भुटानी शरणार्थीको आरोप सल्टिसकेको छैन् । उनी तानिने भएपछि हतारहतारमा सरकार नै परिवर्तन गरिएको त स्पष्टै छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको मुख्य योजनाकार आरजु भएको बताइन्छ ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले सोही आरोपमा जेलको हावा खाइसकेका छन् । उनी अदालतबाट धरौटीमा छुटेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुपूगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, बिचौलिया बेचन झा जेलमा छन् । सो प्रकरणको जम्मै प्लानिङ–प्लटिङ गर्ने मुख्य योजनाकारलाई चाँहि परराष्ट्रमन्त्री उपहार दिइएको छ ।
रवि न कुनै सहकारीको सञ्चालक थिए न ऋणी । ग्यालेक्सी टेलिभिजनमा हुँदा उनको नाममा पैसा निकालेको देखिन्छ । ओलीले त आफू प्रधानमन्त्री हुँदा स्वयमं सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको देखिन्छ । यस्तो ‘संगीन अपराध’ गर्नेलाई जेलको चिसो भुइँमा सुताउनुपर्ने हो कि होइन् ?
अर्को कुरा प्रधानमन्त्री पत्नी हुँदैमा अपराध गर्दापनि कारबाही नहुने ? कानुन सानालाई मात्र हो ? एउटै आरोपमा कोही जेलमा त कोही परराष्ट्रमन्त्रीको कुर्सीमा । जनतालाई यति हीनताबोध भएको छ कि बयान गरिसाध्य छैन् । जनताको शिर निहुँरिएको छ । नेपालीमा एउटा चर्चित उखान छ,‘अर्काको आङको जुम्रा पनि देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ।’ यो उखान काँग्रेसका नेताहरुसँग मिल्छ ।
काँग्रेसका महामन्त्री गगन थापा सदनमा बुरुकबुरुक उफ्रिन्छन् । अरुमाथि हिलो छ्याप्न उनी ‘नम्बर वान’ छन् । रविमाथि सहकारीको आरोप लागेपछि सबैभन्दा बढी कराउने उनी नै हुन् । अहिले उनको आवाज नै निस्किँदैन् । आरोपकै भरमा अरुको ‘खाल’ निकाल्ने खोज्ने उनी आरजुको हकमा किन चुप ? यही हो नैतिकता ? गगनले यसको जवाफ दिनुपर्छ ।
नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाएकोजस्तो संगीन आरोपमा मुछिएकी आरजुलाई परराष्ट्रमन्त्री बनाउँदा उनी के हेरेर बसेका थिए ? यहाँ त आफ्नो पक्षको हुनुपर्छ, जे गरेपनि ठीक । अनि यस्ताले विकास गर्छन् । सरकार ढल्नुप्रति सर्वसाधारणको बुझाइ,‘रविले २५ वटा भ्रष्टाचारको फाइल खोल्ने भो, आरजुलाई र ओलीलाई समात्ने भएपछि सरकार ढालियो ।
नेकपा माओवादी, रास्वपा, एकीकृत समाजवादी पार्टीलगायत अन्य पार्टी मिलेर तिनलाई सदनमा छिर्न दिन नहुने सर्वसाधारण बताउँछन् । यस्ता गम्भीर आरोप लागेकालाई सदनमा छिर्न दिने हो भने जनताको इमान पानीपानी हुन्छ । भुटानी प्रकरण सहकारी ठगीजस्तो होइन् ।
मानव बेचबिखन सामान्य कुरा होइन् । देशको नेतृत्व भएर सरकारी जग्गा हिनामिना गर्नेलाई कुनै छुट हुनुहुँदैन् । ‘अपराधी’ हरुलाई सजाय हुनैपर्छ । अपराधीहरु जोगाउने थलो सदन र सत्ता नबनोस् । जसले अपराध गर्छ, उसले सजाय भोग्नैपर्छ । एउटालाई कानुन लाग्दा अर्कोलाई उम्काउने काम नहोस् ।
२०८४ को चुनावमा काँग्रेस र एमाले त शून्य नै हुन्छ । पार्टीका नेताहरु आफ्नो नेतृत्वसामु चुइक्क बोल्न सक्दैनन् । अनि के को नेता ? यहाँबाट के प्रमाणित भयो भने काँग्रेसमा आरजु र एमालेमा ओलीको विरोधमा बोल्न सक्ने कोही रहेनछन् । गलतलाई गलत र सहीलाई सही भन्न नसकेसम्म यो अवस्था रहिरहन्छ ।
अपराधीहरु सत्तामा गइरहन्छन् । आरजुको कारणले काँग्रेसको पत्तासाफ हुने भयो । ओलीले त एमालेलाई तहसनहस बनाइसके । अब खरानी हुन मात्र बेर छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्यो । जनताले ८९ सीटमा काँग्रेसका उम्मेदवारलाई जिताए ।
तर, परराष्ट्र खाने आरजु बनिन् । उनी मनोनित सांसद हुन् । प्रधानमन्त्रीको श्रीमती भएकै कारण परराष्ट्रमन्त्री बनाइयो । अनि जनताको मतदानको कदर भयो ? जनताले त प्रत्यक्ष चुनेर जनप्रतिनिधि पठाएका थिए । यद्यपि, प्रधानमन्त्रीपत्नी भएकैले फल खान दिइयो । काँग्रेसमा आरोप नलाग्या व्यक्तिहरु पनि छन् ।
तिनलाई दिएको भए हुन्थ्यो परराष्ट्रमन्त्री । आरजुलाई मन्त्री बनाउनु नै काँग्रेस सकिनु हो । अब कसैले काँग्रेस पार्टी छ भनेर नभनेपनि हुन्छ । विपक्षी दलहरु अब एकजुट हुनुपर्छ । जनता उनीहरुको पक्षमा छन् । सदन अवरोध गर्नुपर्छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कुनैपनि हालतमा सदनमा जान दिनुहुँदैन् ।
हामी सानो छौं भनेर विपक्ष दल आत्तिने होइन् । अपराधीहरुलाई सजाय दिन जोडतोडका साथ लाग्ने हो । यिनीहरुलाई थुनाउन सक्यो भने साना दल जनताको नजरमा ठूला हुन्छन् । साना दलले के बुझ्नुपर्छ भने सलाईको काटी पनि सानो हुन्छ । तर, त्यसले पार्ने प्रभाव ठूलो छ ।
पूरा जंगल खरानी बनाइदिन सक्छ। वर्तमान गृहमन्त्री रमेश लेखक पटकपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री भए । उनी अन्य मन्त्री पनि भए । उनले भ्रष्टाचार गरेर अंकुत सम्पत्ति कमाएको बताइन्छ। त्यस्तो भ्रष्टाचारीलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ। जसलाई आफ्नै भ्रष्टाचार लुकाउन हम्मेहम्मे परेको छ, उसले अर्काको भ्रष्टाचार खोल्छ ?
काँग्रेस, एमाले र राप्रपाले धेरै भ्रष्टाचार गर्यो, जनतामाथि शोषण गर्यो, देशको भूभाग विदेशीलाई बेच्यो भनेर २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । माओवादीको जनयुद्ध १० वर्ष चल्यो । १७ हजार नेपाली शहिद भए । २०६४ चैत २८ को चुनावमा माओवादी बहुमत नजिक पुगेको थियो ।
१३८ चाहिने ठाउँमा माओवादीले १२१ निर्वाचन क्षेत्रमा प्रत्यक्ष जित्यो । थोरै ठाउँमा हार्यो । पछि काँग्रेस र एमाले मिलेर माओवादीलाई टुक्राटुक्रा बनाए । माओवादीमाथि जनताको जुन अपेक्षा थियो, त्यो पुरा गर्न सकेन् । माओवादीका नेताहरु पनि व्यक्तिगत स्वार्थमा रमाउन थाले ।
बिलासिता खोज्न थाले, भ्रष्टाचारी बने। जसका कारण माओवादीलाई जनताले पत्याउनै छोडे। माओवादीबाट आश उठेपछि जनता रवितर्फ मोडिए । टेलिभिजनको रंगीन दुनियाँबाट एक्कासी राजनीतिमा हाम्फालेका उनलाई जनताले गत निर्वाचनमा २१ सीट दिए।
जनताको चाहना भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्छ भन्ने मात्र हो। जनताले अरु केही खोजेका छैनन्। किन कि आज नेपाल विश्वमै बद्नाम बन्यो । जनताको नाम लिएर जनतामाथि नै शोषण भयो। जसले भ्रष्टाचार गर्छ, उसलाई जेलको चिसो भुइँमा लगेर सडाउनैपर्छ।
जनताले खाईनखाई तिरेको करमा भ्रष्टाचार गर्नेहरुको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ। भ्रष्टाचार गर्नेलाई कारबाही हुनैपर्छ, चाहे त्यो जुनसुक दलको होस्। ओलीसँगै एमालेका नेता सति गए, आरजुसँगै काँगेसका नेता। देश र जनताका लागि बोल्ने एक चित्रबहादुर केसी छन्। बिचरा, उनको आवाज कसले सुन्ने ? यहाँ त जसको शक्ति, उसैको भक्ति छ।