बैंकको आतंक बढ्दै,ऋणीलाई दिनरात टर्चर दिँदा समेत सरकार मुकदर्शक

केही वर्षअघि सुनसरीको इटहरीमा एनआईसी एसिया बैंकले ऋणीको घरमै गार्ड राख्यो। त्यसअघि झापाको दमकमा पनि किस्ता तिर्न दबाब दिँदै उक्त बैंकले ऋणीको घरमै सुरक्षाकर्मी खटाएको थियो। यति मात्र होइन ऋणीलाई नजरबन्दमा नै राख्यो बैंकले। बैंकको यस्तो कार्यको चौतर्फी विरोध भयो।

चारैतिरबाट आलोचना हुन थालेपछि नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई यस्तो कार्य नगर्न सचेत समेत गराउनु परेको थियो। अहिले बजारमा बैंकको आतंक बढ्दै गएको छ। विभिन्न बैंकले ऋणीको घरमा गुण्डा पठाउनुका साथै ऋणीका बालबच्चालाई धम्क्याउने, थर्काउने गरेको पाइएको छ।

तेरो बाउले बैंकको ऋण खाको छ’ भन्दै बैंकका गुण्डाहरुले ऋणीका छोराछोराको स्कुलमै गएर भन्ने गरेको बताइन्छ। बैंकले ऋणीको घरमा सूचना टाँस्नुका साथै सार्वजनिक स्थलमा समेत ऋणीको फोटोसहित सूचना टाँसेको पाइन्छ। हामी जनताले पनि बुझ्ेनौं कि ऋण भनेको घिन हो र बैंक भनेको लुट, ठग हो।

करोड मूल्य पर्ने धितो राखेर २० लाख रुपैयाँ कर्जा लिए। बैंकले कर्जा दिने बेला एक प्रतिशत सेवाशुल्क भनेपनि लिने बेला तीन प्रतिशतसम्म लियो। तीन लाख रुपैयाँ घुस खायो। कर्जाको १२ प्रतिशत ब्याज भनेर ७५ प्रतिशत असुल्यो। ऋणीले बैंकले २० लाख त ऋण लियो। तर, मालपोतमा राजस्व तिर्दा, लेखनदासलगायतलाई दिँदा १५ लाख मात्र हातमा पर्यो।

अनि ऋणीले तीन किस्ता तिर्न नसक्नेबित्तिकै बैंकले करोड मूल्य पर्ने धितो १५ लाखमै पचाइदियो। बैंकले लाखौं मान्छेलाई सडकछाप बनाइसकेको छ । हजारौं सर्वसाधारण बैंककै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्। बैंकमा जाँदा कर्मचारीहरु मिठो बोल्छन्। चिया, पानी कि चिसो खाने भनेर फर्काउँछन् ।

अनि ऋण लिएपछि तीन किस्ता नतिर्नेबित्तिकै ऋणीको घरमा गुण्डा पठाउनेदेखि अनेक गर्छन्। अहिले बैंकहरुको आतंक बढ्दै गएको छ। ऋणीको गाडी तान्नदेखि घरजग्गा, सेयर लिलाम गर्न समेत बैंकहरुले गुण्डा प्रयोग गर्ने गरेका छन्। यति मात्र होइन ऋणीको उठीबास लगाएर उनीहरुलाई कालोसूचीमा राख्छन्।

तीन पुस्ते पत्रपत्रिकामा निस्काल्छन् । बैंकका कर्मचारीहरुले राति १२ बजे समेत ऋणीलाई फोन गरेर टर्चर दिने गरेको बताइन्छ। सार्वजनिक बिदाको दिन समेत ऋणीको घरमै पुगेर पूरै समाजकै अगाडि उसको बेइज्जत गर्ने गर्छन्। ऋणीलाई मर्नुपर्ने अवस्थामा बैंकले पुर्याउने गरेको छ।

बैंकको टर्चरका कारण कयौं ऋणीले आत्महत्या गर्नुका साथै घरपरिवार नै सकाएको समेत उदाहरण छन्। केही वर्षअघि भक्तपुरको थिमीमा बैंकले घरजग्गा लिलाम गरेपछि एक व्यक्तिले आफ्नो श्रीमती, छोरा र कुकुरलाई समेत विष खान दिएर मार्नुका साथै आफु पनि झुण्डिए। यो प्रतिनिधिमूलक घटना मात्र हो। बैंककै कारण धेरै ऋणीले आत्महत्या गरेका छन्।

अहिले बैंकले ऋणीलाई मात्र नठगेर बचतकर्तालाई समेत लुटेको पाइएको छ। बैंकका कर्मचारीहरुले बचतकर्ता खाताबाटै पैसा चोर्ने गरेको घटना बाहिरिएका छन्। यति मात्र होइन पढे नलेखेका अशिक्षित व्यक्तिलाई बैंकले झनै ठग्ने गरेको छ। पछिल्लो समय हरेक काम बैंकमार्फत गर्नुपर्ने अवस्था आएको छ।

त्यसैले, शिक्षितदेखि अशिक्षित व्यक्तिहरु बैंकसँग जोडिन पुगेका छन्। तर, बैंकले यसको फाइदा उठाउँदै उनीहरुलाई ठगेको पाइन्छ। नपढेको व्यक्तिले अक्षर चिन्दैन। अनि उसले बैंकमा पैसा राखेपनि बैंकले दिएको रसिद बुझ्दैन। यसैको फाइदा उठाएर बैंकले कयौं बचतकर्तालाई उठेको पाइन्छ।

अहिले बजारमा सुनिन्छ कि बचतकर्ताहरुले बैंकमा ३३ लाख रुपैयाँ राखेपनि कर्मचारीहरुले रसिदमा ३३ हजार मात्र लेखिदिँदा बचतकर्ता आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्। यसरी कयौं बचतकर्ता रसिद पढ्न नसक्दा समेत बैंकबाट ठगिने गरेका छन्। बैंकले अशिक्षित,सीधासाधा सर्वसाधारणलाई भुलाएर समेत लुट्ने गरेको छ।

कतिपय बचतकर्ताले घरपरिवारलाई जानकारी नगराई बैंक तथा वित्तिय संस्थामा ठुलो रकम जम्मा गरेका हुन्छन्। तर, बचतकर्ताको कुनै कारणवश निधन भएमा र उसको घरपरिवार कोही पनि रकम लिन नआएमा पनि बैंक,वित्तिय संस्थाहरुले कुनै जानकारी वा सूचना नै ननिकाली सो रकम पचाइदिन्छन्।

पछिल्लो समय बैंकहरुप्रति सर्वसाधारणको अविश्वास बढ्दै गएको छ। एकातिर बैंकको लापरबाही, गैरजिम्मेवारी अर्कोतिर कर्मचारी,सञ्चालकहरुकै मिलेमतोमा चोरी हुनु। सबै बचतकर्तालाई कुन कुन मितिमा कति रकम राखेको भनेर स्पष्ट याद हुँदैन। यसैको फाइदा उठाएर बैंकले बचतकर्ताको रकम चोरी गर्ने गरेको पाइन्छ।

अनि आफ्नो रकम चोरी भएको भनेर बोल्न वा प्रमाण पेश गर्न सक्ने बचतकर्तालाई बैंकले ‘तपाईँको रकम अरुको खातामा ट्रान्सफर भएछ’ भन्दै फिर्ता गर्ने र बोल्न वा प्रमाण पेश गर्न नसक्ने बचतकर्ताको रकम नै पचाइदिने गरेको पनि बताइन्छ। अहिले बैंकमा बचतकर्ता गर्ने र ऋण लिने दुवै बैंकलाई चोर, ठग भन्छन्।

बैंकले घरजग्गा दलालीदेखि सेयर दलाली, गाडी दलाली सबै पालेका छन्। बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर चार हजार पुर्याएर सर्वसाधारण फसाउने पनि यीनै दलाली र बैंक हुन्। रोपनीको पाँच हजारमा बिक्री नहुने खेतीयोग्य जमिन वा डाँडापाखा समेत प्लाटिङ वा खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बिक्री गर्ने पनि यीनै हुन्।

दुई रुपैयाँ किलोमा बिक्री नहुने फलाम, प्लास्टिक, सिसाबाट भारत र चीनले गाडी बनाए। अनि छिमेकी मुलुकबाट एक लाखमा गाडी ल्याएर यहाँ करोडसम्ममा बेच्ने पनि यीनै बैंक र दलाली नै हुन्। बैंकले करोडौं जनतालाई सुकुम्बासी बनाइसकेको छ। अहिले सार्वजनिक स्थलमा आम नागरिकहरु बैंक चोर, ठग हुन् भनेर कुरा गरिरहेको भेटिन्छ।

बैंकलाई सर्वसाधारण ठग्न छुट दिने सरकार नै हो। किनकि बैंकले जतिसुकै सर्वसाधारण जनतालाई ठगेपनि वा लुटेपनि राष्ट्र बैंक र अर्थ मन्त्रालय केही गर्दैन। वित्तिय संस्थाहरुले पनि आम नागरिकको रुवाबासी गराएका छन्। ३५ हजारबढी सहकारीले करोडौं जनताको खर्बौ रकम खाइदिएको छ। लघुवित्त, फाइनान्सका कारण पनि धेरैको उठीबास र बिचल्ली भएको छ।

अझै पनि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भन्छन्, ‘बैंकमा ऋण लिन कोही आएन ।’ अनि यस्तो ठग, चोर बैंक कहाँ पनि अझै सर्वसाधारण ऋण लिन जान्छन् त।

अब जनताले बुझिसके कि बैंकमा बचत गर्नु र ऋण लिनु आफुले आफुलाई सकाउनु हो । तर, राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्री अहिले पनि सर्वसाधारण ठग्न पाइन्छ कि भनेर बैंकमा सर्पोटमा कम्मर कसेर लागिपरेका छन्।

बैंक, वित्तिय संस्थाको ठगीधन्दाविरुद्ध सर्वसाधारण एकजुट हुँदै गएका छन्। त्यसैले, यस्ता ठग संस्थाहरुलाई जनताले नै लखेट्ने छन्। कारबाही गर्ने छन् र कालोमसो पनि दल्नेछन्। किनकि सरकार त बैंक, वित्तिय संस्थाको अगाडि लम्पसार नै परेको छ नि त । कि कसो।