एसिया कप: युएईले दियो नेपाललाई ११६ रनको लक्ष्य

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले युएईबाट ११६ रनको लक्ष्य पाएको छ। श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोड्यो।

युएईका लागि खुसी शर्माले सबैभन्दा बढी ३६ रन बनाइन्। नेपालकी कप्तान इन्दू वर्माबाट क्याच हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन्।

त्यसअघि नेपालले युएईकी ओपनर तथा कप्तान इशा ‌ओजालाई दोस्रो ‌ओभरमा १० रनमा रनआउट गरेको थियो। अर्की ओपनर तिर्था सतिथलाई नेपालकी कप्तान इन्दू वर्माले आउट गरिन्।

त्यसअघि सबनम राईले रिनथा रजितलाई ६ रनमा पेभिलियन फर्काएकी थिइन्। सामिरालाई कप्तान इन्दूले १३ रन र किभिसालाई कृतिका मरासिनीले २२ रनमा आउट गरे।

बलिङमा कप्तान इन्दूले ३ विकेट लिइन्। उनले ४ ओभरमा १९ रन खर्चिइन्। सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए। नेपालले युएईका दुई ब्याटरलाई रनआउट गर्‍यो।

नेपाली टोली स् १ रुबिना क्षेत्री, २ सीता रानामगर, ३ इन्दू वर्मा (कप्तान), ४ कविता कुँवर, ५ कविता जोशी, ६ पूजा महतो, ७ विन्दू रावल, ८ सम्झना खड्का, ९ काजल श्रेष्ठ (विकेटकिपर), १० कृतिका मरासिनी, ११ सबनम राई

नेपाली महिला टोलीले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गरेको हो। यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो। ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन्। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।