केपी र आरजुको सामुन्ने एमाले र काँग्रेसका नेता ‘कठपुतली’ साबित, एउटैमाथि बारम्बार कृपा बर्साउँदा पनि सांसद्हरु मौन
अनुसा थापा
सर्वसाधारण खुलेरै भन्छन्,‘काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी कम्पनी हो ।’ काँग्रेस र एमालेमा सँधै नेतृत्वको हुकुमत चलेको देखिन्छ । तिनको अगाडि पार्टी नेताहरु टाउको हल्लाउनबाहेक केही गर्न सक्दैनन् । शेरबहादुरले बारम्बार एउटै व्यक्तिलाई मन्त्री बनाउँदै आएका छन्।
र, ती हुन् रमेश लेखक । केपी त विष्णु पौडेललाई काखी च्यापेरै हिँडेका छन् । जतिपटक काँग्रेस र एमाले सत्तामा जान्छ, यी दुई मन्त्री बनिहाल्छन् । सबै निर्वाचन क्षेत्रबाट चुनाव जितेर माननीयहरु सदनमा आएका छन् । तर, तिनको पालो आउने देखिँदैन् । उनीहरु मन्त्रीको लागि कुरेको कुर्यै हुने भए ।
वर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु देउवा आजसम्म जनताको बीच गएकी छैनन् । पार्टीको कृपाले उनी मनोनित सांसद बनेकी हुन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको आरोप लागेकी उनलाई परराष्ट्र उपहार दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पनि जनताले चुनेका होइनन् ।
केपीको निकट भएकाले उनलाई भौतिकजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइयो । हुन त केपीले आफूलाई मनपर्नेमाथि कृपा बर्साइहाल्छन् । त्यसका उदाहरण पनि धेरै छन् । २०७४ सालमा युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । जबकी उनी जनताबाट चुनिएर आएका थिएनन् ।
२०७१ सालमा महेश बस्नेत उद्योगमन्त्री बने । उनी त जनतामा गएर चुनाव हारेको व्यक्ति थिए । जनताले नपत्याएकालाई केपीले पत्याए । योभन्दा अरु के नै चाहियो? पूर्वअर्थमन्त्री युवराजलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ । उनले मन्त्रीसरह सेवासुविधा पाउनेछन् ।
आफ्नो निकटलाई ओलीले जताबाट भएपनि पोस्ने बाटो खोजिहाल्छन् । जनताबाट चुनिएर आएको सांसदले मन्त्री पाउँदैनन् । सल्लाहकार पाउँदैनन् । सरकारी कर्मचारीको पृष्ठभूमिबाट आएकालाई दोहोर्याइतेहेर्याइ पोसिन्छ । पार्टीका अध्यक्ष वा सभापतिले पार्टीलाई आफ्नो निजी कम्पनी बनाएपछि कार्यकर्ताहरु रुष्ट भएका छन् ।
एमाले–काँग्रेसका कार्यकर्ता नै पार्टी नेतृत्वको विरोध गरिरहेका छन् । तर, तिनको कुरा कसले सुन्ने ? सांसदहरुसँग आफ्नो आवाज राख्ने हिम्मत छैन् । काम गर्ने क्षमता होस् कि नहोस्, नेतृत्वको चाकडी गर्यो भने पद पाइहालियो । यस्तो पाराले कतिञ्जेल चल्छ ? जनता दिनभर लाइन बसेर मतदान गर्ने अनि सांसदहरु गलतको विरोधमा चुइक्क पनि बोल्न नसक्ने ।
सांसदहरु पार्टी नेतृत्वको अगाडि सँधै आत्मसमर्पण गरिदिन्छन् । जसका कारण गलत व्यक्तिहरु पदमा पुग्छन् । पार्टीको एकलौटीपनको विरोधमा सांसदहरुले जोडतोडका साथ आवाज उठाउनुपर्छ । विद्रोह गर्नुपर्छ । नत्र जनता दबिरहन्छन् । सांसद दबिनु भनेको जनता दबिनु हो ।
केपीलाई विश्वासको मत दिन नहुने काँग्रेसका कार्यकर्ताहरुको धारणा छ । तर, पार्टीको ह्वीपविरुद्ध सांसदहरु उभिन सक्दैनन् । सांसदहरु नै ‘भेँडा’ जस्तै छन् । पार्टीले जताजता भन्यो, त्यतात्यता नाँच्छन् । जनताले सांसदलाई प्रश्न गर्छन्,‘जनताबाट चुनिएर गएकालाई पार्टीले नपत्याउनुको कारण क्षमता नभएर हो ? मन्त्री हाँक्न सक्ने क्षमता नभएर हो ? कि पार्टी नेतृत्वको विरोध गर्न नसकेर हो ?’
एउटै व्यक्तिले र चुनाव नजितेकाले पटकपटक मन्त्री पाउँछ भने जनताले मतदान गर्नुको के औचित्य ? पार्टीको सभापतिले जसलाई मनलाग्यो, उसैलाई मन्त्री बनाउँछन् । बेकारमा जनताले किन दुःख गरिरहनु ? अब सांसदहरुले लोगो लगाउन छोडिदिए भयो । त्यो लोगो देख्दा जनताको शिर निहुँरिन्छ ।
कस्तोलाई मतदान गरेर पठाएछौं भनेर जनताको मन भत्भती पोल्छ । आरजुलाई जोगाउन खोज्दा काँग्रेस सकिने तय भइसकेको छ । भुटानी शरणार्थीको आरोप लागेकालाई मन्त्री दिनु हुन्छ ? पार्टीमा अन्य कोही थिएनन्, मन्त्री सम्हाल्न ? गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गर्ने व्यक्ति देशको प्रधानमन्त्री ।
योभन्दा हीनताबोध कुरा के होला ? केपीलाई बचाउँदा एमालेको पत्तासाफ हुँदैछ । गल्ती गर्नेलाई सँधै जोगाउने त राजनीतिक प्रवृत्ति नै बन्यो । आफ्नो भ्रष्टाचार लुकाउन जे पनि गर्ने । मानव तस्करहरु सरकारमा छन्, मन्त्री खाइरहेका छन् । सरकारी जग्गा हिनामिना गर्नेहरुले देशको ड्राइभिङ सिट हाँकिरहेका छन् ।
जनताको मुखमा यति नराम्ररी कालिक पोतिएको छ कि के भन्ने ? यस्ता नेताका कारण जनता मुख छोपेर हिँड्न बाध्य भएका छन् । जेल जानुपर्ने मान्छेहरु प्रधानमन्त्री र मन्त्री । देशलाई योभन्दा बढी प्रगति के चाहियो ? आज अन्तर्राष्ट्रिय स्तरमा नेपाल बद्नाम बन्यो । भ्रष्टाचारीहरुको देश बन्यो ।
यहाँ ‘ठूलालाई चैन, सानालाई ऐन’ भयो । ठूलाबडाले जे गरेपनि कानुन नलाग्ने । भुइँ मान्छेले छिरिक्क केही गर्यो भने जिन्दगीभर जेलको चिसो भुइँमा सड्नुपर्ने । प्रधानमन्त्री पत्नी हुँ भन्दैमा ‘अपराध’ गर्ने अधिकार छ ? यसको जवाफ काँग्रेस र शेरबहादुरले दिनुपर्छ । जनताप्रति अलिकति जवाफदेही हुनुपर्दैन् ?
गल्ती गर्नेलाई सजाय हुनैपर्छ । जबसम्म ‘अपराधी’ हरुलाई जोगाइन्छ, सत्तामा पुर्याइन्छ, तबसम्म देश विकास हुँदैन् । जनताले सुःख पाउँदैनन् । यसका लागि पार्टीभित्रै विद्रोहको आवश्यक छ । केही भ्रष्टाचारीका कारण समग्र पार्टी बद्नाम बनिरहँदा अरु के हेरिरहेका छन् ?
विद्रोह गर्दा पार्टीको कारबाहीमा परिएला भन्ने समय छैन् । किन कि त्यो भन्दाभन्दै नेपाल तहसनहस बनिसकेको छ । गलतको विरोधमा सँधै आवाज उठाउनुपर्छ । पार्टीको आँखामा नङ्गेर केही हुँदैन्, जनताको आँखामा त सम्मान पाउँछन् । जनताले पत्याउनु नै सबैभन्दा ठूलो कुरा हो ।
जनता सँधै सत्यको पक्षमा हुन्छन् । हिजो राणाकालमा जनता सशक्त भएर गलतको विरोधमा आवाज उठाउँथे । चाहे फाँसी नै किन चढ्न नपरोस् । भ्रष्टाचार, अन्याय अत्याचार, विभेदको विरोध गर्दा धेरैले मृत्युवरणसम्म खेप्नुपर्यो । तर, उनीहरु डराएनन् । जनता त त्यस्ता आँटिला थिए भने सांसद किन यस्ता ?
सांसद भनेको देश र जनताको अभिभावक हो । नाकि पार्टीको कठपुतली । यद्यपि, सांसदहरुले त्यो बुझेनन् । उनीहरुले पार्टी नै सबथोक होजस्तो गरेका छन् । लोसपाको नेता शरतसिंह भण्डारी २० पटक मन्त्री भए । एउटै व्यक्ति २० पटक मन्त्री ! सुन्दा पनि लाज लाग्ने ।
हुन त मधेशी दललाई देश र जनताको के मतलब ? तिनलाई त पद मात्र प्यारो छ । सरकारमा जोसुकै ओओस् उनीहरु मन्त्री खान पुगिहाल्छन् । भोलि राजा आयो भनेपनि यिनीहरु मन्त्री खान पुगिहाल्छन् । के सही ? के गलत ? भन्ने नै थाहा छैन् । एउटा भएपनि पद चाहिएको छ, भ्रष्टाचार गर्नुछ ।
२० पटक मन्त्री भएका शरतसिंहले के उखालेका छन् ? केही सम्झिनेलायक काम गरेका छन् र पटकपटक मन्त्री दिएको ? लोसपामा उनीबाहेक कोही छैनन् मन्त्री बन्नलाई ? पदमा पुग्ने, भ्रष्टाचार गर्ने, जनताको शोषण गर्ने, दमन गर्ने, सिण्डिकेट लगाउने, दादागिरी देखाउने । यो कतिञ्जेल चल्छ ? पार्टीका कठपुतलीहरुलाई अब जनताले भोट दिनुहुँदैन् ।
जनता सँधै तिनलाई मतदान गरेर पठाउँछन् अनि पाँच वर्षका लागि थकथकी मान्नुपर्छ । सत्ता भ्रष्टाचार लुकाउने थलो बनेको छ। स्वच्छ छवि भएका एक जनापनि सरकारमा छैनन् । पार्टी बनाउन लाखौंले योगदान गरे । तर, केहीको पेवा बन्यो । आज देशमा यो व्यवस्था ल्याउन कति संघर्ष गर्नुपरेको छ।
जनताका छोराछोरी शहिद बने, कतिपय अंगभंग छन् । तिनको आँशु यिनीहरुलाई अवश्य पनि लाग्नेछ । समृद्ध नेपाल र सुःखी नेपाल सोचेर शहिद बने। यद्यपि, न नेपाल समृद्ध बन्यो न नेपाली सुःखी छन् । सुःखी त सत्तामा पुग्ने भ्रष्टाचारीहरु मात्र छन् । जनताको रगतले मूल्य पाएन्, योभन्दा विडम्बनापूर्ण कुरा के होला ?