मुलुकको समग्र विकासका लागि काँग्रेससँग समीकरण भएको हो: उपमहासचिव ज्ञवाली

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीच मुलुकको समग्र विकासका लागि सत्ता समीकरण भएको बताएका छन्।

रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको सञ्चार संवाद कार्यक्रममा उनले प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई विकास र जनतामा विद्यमान निराशा चिर्ने दृढ सङ्कल्पसहित सत्ता समीकरण भएको दावी गरे।

उपमहासचिव ज्ञवालीले भने,नयाँ सत्ता गठबन्धन बनेपछि अहिले जुनखालका चर्चा भइरहेका छन्,विपक्षी दलले संविधानको धारा ७२ को उपधारा २ को गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी पनि गरे तर हामी सत्ताका लागि मात्रै एकठाउँमा आएका होइनौ, देशमा विद्यमान समस्या समाधान गर्ने दृढ राजनीतिक सङ्कल्पका साथ सत्ता समीकरण गरेका हौँ। अब सोहीअनुसार काम गर्छौ।

उनले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न एमालेले पार्टीका तर्फबाट ९९ बुँदै सुझावपत्र सरकारलाई बुझाएको समेत उल्लेख गरे।

एक अर्को प्रसङ्गमा पूर्वमन्त्री ज्ञवालीले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेकाले त्यसले दिने प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकार अगाडि बढ्ने प्रष्ट पारे ।