रास्वपाले भन्यो– क्षणिक लेनदेनको हिसाब मिलाउन उपसभामुखलाई विवादमा ल्याइयो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको दाबी गरेको छ।

आइतबार बिहान विज्ञप्ति जारी गर्दै रास्वपाले उपसभामुखले भिसाको लागि अग्रिम मितिको आग्रह गरिएपनि आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभेटिएको दाबी गरेको हो।

साथै ती व्यक्ति नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिएको समेत रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले यस विषयमा संघीय संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइरहेको बताएको छ।

रास्वपाले रानामगरको निष्कलङ्क र उज्यालो छविकै कारण पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको तर्क पनि गरेको छ।