देउवाको साथले शक्तिशाली बने ओली, प्रचण्ड–रवि भिड्न तम्सिदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत प्राप्त गरेसँगै गठबन्धनको गठजोडले ओली अंकगणितीय रुपमा दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री देखिँदा राजनीतिक रुपमा बलिया बनेका छन्।

इतिहासमा कमैले पाउने अवसर पाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास जितेका छन्। ओलीले संसद्मा दुई तिहाई सांसदको विश्वास जितेसँगै उनले लगातार दुई पटक दुई तिहाइको सरकारको नेतृत्व गर्ने अवसर पाएका छन्।

अस्थिर संसदको अंकगणितमा सरकार गठनको कठिन परिस्थिति आइपर्छ भन्ने आकलनकै बीच प्रधानमन्त्री ओलीको पक्षमा संसदमा उपस्थिति २६३ सांसदमध्ये १८८ सांसदले विश्वासको मत दिएका छन्।

विपक्षमा ७४ मत खस्यो। ओलीको पक्षमा एमालेसहित कांग्रेस,जनता समाजवादी पार्टी नेपाल, जसपा, जनमत पार्टीसहित स्वतन्त्र सांसद अमरेश कुमार सिंह र योगेश मण्डलले मत दिए।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका साथै एक मात्र सांसद रहेका जनमोर्चाका चित्रबहादुर केसी र आम जनताका प्रभु साह ओलीको विपक्षमा उभिए। यस्तै एकमात्र सांसद रहेको नेमकिपाका प्रेम सुवाल तटस्थ रहे।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु अघि सहमति, सहकार्य र एकता कायम गर्दै राष्ट्रका चुनौतीहरुको सामना गर्ने र समृद्धिको दिशामा अघि बढ्ने प्रतिवद्धता जनाए।

देशको विकासलाई गति दिन र सरकारको स्थायित्वदेखि संविधान संशोधनसम्म आफ्नो सरकारको प्राथमिकतामा रहेको भन्दै विपक्षमा रहेकाको पनि सल्लाह सुझाव ग्रहण गर्ने तर, सबैको चित्त बुझाउन भने नसकिने तर्क उनले गरे। सरकारले पाएको दुई तिहाइ मतले जनताको पनि विश्वास जित्ने गरि काम गर्ने सत्ता रुढ नेताको भनाइ छ।

सदनमा प्रतिपक्षीको ठूलै हैसियतको रुपमा रहेका प्रचण्डले विश्वासको मतबारे कुनै राय नराखे पनि पार्टीको तर्फबाट वर्षमान पुनले बोलेका थिए। सुशासनदेखि ठूला दल डराएकै कारण प्रचण्ड नेतृत्वको सरकार ढालेको आरोप लगाएको माओवादीले अब आफूहरू जनताको मुद्दा सशक्त ढङ्गले उठाउन सदनमा उपस्थित हुने बताएको छ।

३५ वर्षसम्म कांग्रेस र एमालेले नै राज गरेको देशमा अब पनि यिनै पार्टीबाट सुशासनको अपेक्षा गर्न नसकिने माओवादी सांसद पुनले जिकिर गरे। सदनमा सत्ता पक्षको आवाज ठूलो भए पनि रास्वपा एक्लै जनताको आवाज बत्र सक्षम रहेको सभापति रवि लामिछानेले बताए।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ओली प्रधानमन्त्री बनिरहनका लागि कुर्सी भाच्नेदेखि संविधान विघटन गर्नसमेत फेरि तयार हुने र ओलीबाट स्थायित्वको अपेक्षा पूरा हुनै नसक्ने तर्क गरे।

प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले प्रधानमन्त्री बनेको एक हप्ता भित्रै विश्वासको मत लिएका हुन्।

जसमा उनले दुई तिहाई मत प्राप्त गर्दा सदनमा सत्ता पक्ष र प्रतिपक्षीको कित्ता पनि स्पष्ट भएको छ।विश्वासको मतसँगै सदनमा सत्ता र प्रतिपक्षको कित्ता मात्रै प्रष्ट भएको छैन कि आगामी दिनको राजनीतिक यात्रा पनि त्यसैअनुसार अघि बढ्ने स्पष्ट भएको छ।