उपसभामुख पत्र प्रकरण: ९ लाख लेनदेन भएको मुकुलको दावी

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर मुछिएको ‘पत्र प्रकरण’मा राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री डा। मुकुल ढकालले आफुसँग प्रमाण रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै ढकालले उपसभाुमखले दुतावासलाई लेखेको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको बताएका हुन् । साथै उनले उपसभामुख रानाको सचिवालयले आर्थिक लेनलेन गरेको आरोपसमेत लगाएका छन् ।

ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए । पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन् ।

रानाले यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको ढकालको दावी छ । गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभाग मार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू विदेश नउडेको पाइको तर, यस घटनामा आर्थिक लेनदेन भएको बताएका हुन् ।

उपसभामुखको सचिवालयले ९ लाख लिएर पछि फिर्ता गरेको उनको दावी छ । उनी लेख्छन्, ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ, तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई‘तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् ।

९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ।